भारतमा कोरोनाको कहर भयावह बन्दै, एकै दिन २ लाख ७५ हजार भन्दा बढीमा संक्रमण

काठमाडौँ – भारतमा कोरोनाभाइरसका दैनिक संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । आइतबार एकैदिनमा भारतमा २ लाख ७५ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको संख्या बढेसँगै दैनिक मृत्यु हुनेको संख्या पनि बढेको छ । आइतबार भारतभरि १ हजार ६सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र राज्यमा थपिएका छन् भने दोस्रो नम्बरमा नेपालको सीमा जोडिएको राज्य उत्तर प्रदेशमा संक्रमित भेटिएका छन् ।

परीक्षण गरिएकाहरूमा कोरोना पोजेटिभ भेटिने प्रतिशत पनि पहिलाभन्दा निकै बढेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले भारतमा एक सय जनालाई कोरोना परीक्षण गर्दा १६ जनालाई संक्रमण भेटिने गरेको छ ।

कोरोनाको संक्रमणसँग भारतमा खोप अभियान पनि जारी छ । आइतबार त्यहाँ झन्डै २६ लाख ८४ हजार मानिसलाई कोरोनाको खोप लगाइएको थियो ।

भारतमा अहिलेसम्म १ करोड ५० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने तीमध्ये १ लाख ७८ हजारले ज्यान गुमाएका छन् ।

कोरोनाको दोस्रो लहर फैलिएसँगै विभिन्न राज्यहरूले प्रतिबन्ध लगाउन थालेपछि कामका लागि विभिन्न सहरमा पुगेका मजदुरहरू घर फर्किने क्रम पनि बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्