गति लिदैँ हेलम्बुको बहुप्रतिक्षीत ‘ग्रेट हिमालय ट्रेल’

सिन्धुपाल्चोक । चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ। हेलम्बु हिमालयन सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले तीन वर्षदेखि गाउँपालिका घेर्ने गरी महत्वाकांक्षी पर्खाल (ग्रेट टेल) बनाइरहेको हो।

चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नेपाली ग्रेटवालको संज्ञा दिएर पदमार्ग पर्खाल बनाउन थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्। हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न ६० किलोमिटर लामो बहुप्रतिक्षीत पदमार्ग बनाउने कामको थालनी भएको छ । यो पदमार्ग सम्पन्न भएपछि हेलम्बुमा पर्यटकहरुको आगमन बढ्ने बताइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने तीन द्वार मध्ये हेलम्बुबाट यस आर्थिक वर्षमा एकसय ६४ जना पर्यटकहले प्रवेश गरेको सरकारी तथ्याङ्क रहेको छ ।

पदमार्ग पर्खाल स्थानीय स्लेट ढुंगा प्रयोग गरेर बनाइँदै छ। आकर्षक ढंगले काटिएका ढुंगा बिछ्याइएका पर्खालको भुइँमा हरेक खण्ड १० वटा दरका सिँढी (खुड्किलो) बनाएर जोडिने छ। साढे दुई मिटर चौडा हुने पदमार्गको दायाँ–बायाँ साढे एकदेखि साढे दुईमिटर अग्लो पर्खाल लगाइनेछ। ‘ठाउँ–ठाउँमा पर्यटक बिसौनी हुने पर्खालमा बिछ्याइएका ढुंगामा स्थानीय संस्कृति झल्काउने शिलालेख खोप्छौं,’ अध्यक्ष शेर्पाले भने।

शेमाथाङ गाउँका स्थानीय टासी ह्याल्मोका अनुसार देशका सशस्त्र द्वन्द्व शुरु हुनु अघि हेलुम्बको नाका भएर प्रायः पर्यटकहरु निकुञ्जमा प्रवेश गर्ने गर्दथे । नागीडाँडा बुद्ध पार्कबाट शुरु हुने यस पदमार्ग आमा याङ्ग्री पर्वत (३७७१ मिटर) पार गरेर घोप्टेघाङमा सम्पन्न हुनेछ ।करिब चारदेखि पाँच अरब रुपियाँको बजेट अनुमानित गरिएको यस पदमार्ग निर्माणको लागि प्रदेश र संघीय संसदमा बजेटको लागि ताकेता भैरहेको छ ।

प्रारम्भिक १० किलोमिटर दूरीको डिपिआर (विस्तृत परियोजना अध्ययन प्रतिवेदन) तयार पारेर गाउँपालिकाले पदमार्ग पर्खाल निर्माण थालेको थियो। अहिले ६० किमिकै डिपिआर भइसकेको छ। पहिलो वर्ष गाउँपालिकाले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसैबाट १ सय १० मिटर पर्खालको काम सकिएको थियो। दोस्रो वर्ष गाउँपालिकाले ३० लाख रूपैयाँ विनियोजन गर्‍यो। त्यस्तै, वाग्मती प्रदेश सरकारले ५० लाख रूपैयाँ छुट्याएकामा २५ लाख रूपैयाँको मात्र काम हुन सक्यो। यस वर्षका लागि प्रदेश सरकारले नै पर्खाल निर्माणका लागि २० लाख रूपैयाँ विनियोजन गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्