“नेपाललाई ‘हेलम्बु ग्रेट ट्रेल’ को देश भनेर विश्वमा चिनाउन चाहन्छौँ”: अध्यक्ष ह्योल्मो

सिन्धुपाल्चोक । सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (हेलम्बु धर्मचक्र पर्खाल) बनिरहेको छ । चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ग्रेटवाल बनाउन थालिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन ह्योल्मोले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो महत्वाकांक्षी आयोजना हो। यसलाई सम्पन्न गरेरै छाड्छौ । हालसम्म ग्रेट टेलको पाँच सय मिटर निर्माण कार्य सकिएको अध्यक्ष ह्योल्मोले जानकारी दिनुभयो। उहाँका अनुसार साविक इचोक गाविसको बुद्धपार्क र नागिडाँडाबाट निर्माण अघि बढेको पदमार्ग पर्खाल पाकेडाँडा, ठाडेपाटी, घ्योछाडी, सेमिसिदाङ, पेम्थाङ, ढुम्चु, आमायांग्री, ज्योमोथाङ, सेर्माथाङ, नागिडाँडा पुगेर टुंगिनेछ। हेलम्बुको ग्रेट टेल हेर्न वार्षिक लाखौं पर्यटक भित्रिने गाउँपालिकाको विश्वास छ ।

ग्रेट टेल स्थानीय स्लेट ढुंगा प्रयोग गरेर बनाइँदै छ। आकर्षक ढंगले काटिएका ढुंगा बिछ्याइएका पर्खालको भुइँमा हरेक खण्ड १० वटा दरका सिँढी (खुड्किलो) बनाएर जोडिने छ। साढे दुई मिटर चौडा हुने पदमार्गको दायाँ–बायाँ साढे एकदेखि साढे दुईमिटर अग्लो पर्खाल लगाइनेछ। ठाउँ–ठाउँमा पर्यटक बिसौनी हुने पर्खालमा बिछ्याइएका ढुंगामा स्थानीय संस्कृति झल्काउने शिलालेख राखिने अध्यक्ष ह्योल्मोले जानकारी दिनुभयो ।

ग्रेट ट्रेललाई गाउँपालिकाको गौरवको आयोजनामा समेट्दै गाउँपालिकाले यो वर्ष ७५ लाख रूपैयाँका दुईवटा ठेक्कामार्फत काम गरिरहेको छ। त्यस्तै पर्यटन विभागले पर्खाल निर्माणमा ४ करोड रूपैयाँ अनुदान दिएको छ। ठेक्कामार्फत विभागले समेत काम सुरु गरिसकेको अध्यक्ष ह्योल्मोले बताउनुभयो । ६० किमि पदमार्ग पर्खाल बनाउन चार अर्ब रूपैयाँ लाग्ने अनुमान गर्दै गाउँपालिकाले व्यक्तिगत र संस्थागत सहयोग जुटाउने नीति अघि सारेको छ ।

अध्यक्ष ह्योल्मोका अनुसार ६० किमि पर्खाल पूरा हुँदा चीनपछिको दास्रो लामो ग्रेटवाल बन्नेछ । नेपाललाई ग्रेटवालको देश भनेर विश्वमा चिनाउन चाहेको उहाँले बताउनुभयो । काठमाडौं उपत्यकामा बस्ने ५० लाख जनसंख्या र विदेशी पर्यटकलाई हेलम्बु ग्रेटवालले आकर्षित गर्ने गाउँपालिकाको विश्वास छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्