अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनले आज सपथ लिदै, यस्तो छ सुरक्षा तयारी

अमेरिकाले आज आफ्नो ४६ औं राष्ट्रपति पाउनेछ । डेमोक्रेट जासेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेन (७८) अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् । कार्यक्रम क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा बुधबार स्थानीय समयानुसार दिउँसो १२ बजे (नेपाली समयानुसार राती पौने ११ बजे) हुनेछ । बाइडेनले ३५ शब्दको मात्रै शपथ लिनेछन् । समारोह सधैं झैं भव्य तरिकाले हुने छैन । कोरोनाभाइरसका कारण भीड जम्मा हुन दिइनेछैन । यसपटक एक हजारदेखि १२ सय व्यक्ति मात्रै शपथ ग्रहण कार्यक्रममा भाग लिन पाउनेछन् । सबै पाहुनाका लागि स्वास्थ्यको कडा मापदण्ड तोकिएको छ ।

अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रममा पहिलो पटक अमेरिकालाई अमेरिकीबाटै खतरा महसुस गरिएको छ । ७ जनवरीमा इलेक्टोरल भोटको गणनाका बेला क्यापिटल हिल अर्थात् अमेरिकी संसद् भवन भित्र र बाहिर हिंसा भएको थियो । त्यतिबेला ट्रम्प समर्थकले अमेरिकी संसदभित्र प्रवेश गरेर मज्जाले तोडफोड गरेका थिए । त्यसैले अमेरिकी सुरक्षा एजेन्सीले थप सावधानी अपनाइरहेको छ ।

सुरक्षा व्यवस्था कडा

२० हजार सैनिक तैनाथ गरिएको छ । सिक्रेट सर्भिस यसलाई ‘जिरो फेल मिसन’ भनिरहेका छन् अर्थात् कुनै पनि हालतमा गडबडी हुन दइने छैन । क्यापिटल हिलमा कडा सुरक्षाका लागि ब्यारिकेड्स र चेकपोइन्ट लगाइएका छन् । पूरा संसदलाई ७ फिट अग्लो फेन्सिङले घेरिएको छ ।

क्यापिटल हिल नजिकैका सडकलाई बन्द गरिएको छ । नेशनल पार्क सर्भिसले पर्यटकका लागि वासिङ्टन मोन्युमेन्टलाई हालका लागि बन्द गरिदिएको छ ।

सिक्रेट सर्भिस र फेडरल एजेन्सीबाहेक एड्भान्स इलेक्ट्रोनिक सर्भिलान्स अलर्ट मोडमा छन् । यो व्यवस्था ३० दिनसम्म जारी रहनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्