अमेरिकी नयाँ राष्ट्रपति जो बाइडेनको सपथका लागि यस्तो छ तयारी, सुरक्षा चुनौती

वासिंटन – अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकाको राजधानी यतिबेला सैन्य छाउनीजस्तै देखिएको छ । राजधानी वासिंटनमात्र नभएर सबै अर्थात् ५० वटै राज्यमा सुरक्षा कडा तुल्याइएको छ ।
कयौंलाई डोनाल्ड ट्रम्पका समर्थकबाट क्यापिटल हिलमा जस्तै हिंसाका घटना हुन सक्ने त्रासले सताइरहेको छ ।

क्यापिटल हिलतर्फ जाने सडकमा हजारौंको संख्यामा सुरक्षाकर्मी तैनाथ छन् र नियमित गस्ती गरिरहेका छन् । शहरका ठाउँठाउँमा ‘रोड ब्लक’ लगाइएको छ । हतियारसहितका सुरक्षाकर्मीले सवारी साधनहरुको चेकजाँच गरिरहेका छन् ।

अमेरिकी मिडियाका अनुसार नेशनल गार्ड्सका २५ हजार जवानलाई राजधानीमा तैनाथ गरिएको छ ।
यसैबीच केही सुरक्षाकर्मीमाथि पनि छानविन भइरहेको छ जसमाथि ६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसामा प्रदर्शनकारीहरुलाई साथ दिएको आरोप लाग्दै आएको छ ।

मिडिया रिपोर्टस्अनुसार सशस्त्र हमलाको आशंका पनि छ । त्यसैले पनि प्रहरीका गाडीहरु सडकमा गस्ती गरिरहेका छन् भने हेलिकप्टरबाट पनि निगरानी गर्न थालिएको छ ।

सडकमा सेतो रङका कयौं टेन्ट लगाइएका छन् जहाँ केही दिनदेखि सुरक्षाकर्मी बस्दै आएका छन् । कयौं मेट्रो स्टेशन बन्द गरिएका छन् भने अधिकांश क्षेत्रमा ठुला सवारी साधन प्रवेशमा रोक लगाइएको छ । क्यापिटल कम्प्लेक्सलाई जनताका लागि बन्द गरिएको छ भने २० जनवरीका दिन जनताले क्यापिटल ग्राउन्डमा प्रवेश पाउने छैनन् ।

क्यापिटल पुलिसले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गैरकानुनी रुपमा कोही पनि क्यापिटल ग्राउन्डमा लगाइएको ब्यारिकेड पार गर्ने वा कुनै अन्य गैरकानुनी तरिकाबाट प्रवेश गर्न खोज्छ भने उसमाथि बल प्रयोग हुन्छ र गिरफ्तार पनि गर्न सकिन्छ ।’

वासिंटनलाई अन्य सहरसँग जोड्ने पुल र नजिकै रहेको भर्जिनियालाई पनि बन्द गरिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्