‘पर्खाल भित्रको राजधानी‘ विशेष स्तम्भ आरम्भ

काठमाडौं – उपहार खबर डट कम ले २०७७ कार्तिक ८ गते शनिबारदेखि वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को कृति ‘ पर्खाल भित्रको राजधानी ‘लाई हरेक शनिबार पर्खाल भित्रको राजधानी ‘विशेष स्तम्भ प्रकाशन सुरु गर्ने भएको छ । वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ चर्चित नियात्राकार हुनुहुन्छ । उहाँ यस उपहार खबर डट कमका सल्लाहकार पनि हुनुहुन्छ।
दामोदर पुडासैनीका यात्राका प्रेमिल तरङ्गहरू, मायालु हुम्ला, नमेटिएका चित्रहरू, सिमानाका रङ्ग : सिमानाका तरङ्ग र पर्खालभित्रको राजधानी जस्ता नियात्राहरू पाठकहरुले रुचाएका कृतिहरू हुन् । उनका ती नियात्रा कृतिहरूले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, विराटलक्ष्मी प्रतिभा पुरस्कारजस्ता पुरस्कारहरू प्राप्त गरिसकेका छन् ।
सिमानाका रङ्ग : सिमानाका तरङ्ग नियात्रा कृति वि.सं. २०७२ सालमा प्रकाशित कृतिहरूमध्ये उत्कृष्ट सातमा पर्न सफल कृति हो । त्यसबाहेक पुडासैनीका आठ कविता सङ्ग्रहहरू र एक दर्शन कृतिले पाठकको मानसपटलमा नौलो तरङ्ग ल्याउन सफल भएका छन् । प्रसिद्ध समालोचकहरू डा. तारानाथ शर्मा, डा. गोविन्दराज भट्टराई, डा. कुमार कोइराला, हरि अधिकारी, निर्मोही ब्याँसलगायतले दामोदर पुडासैनीको नियात्रा लेखनी नेपाली नियात्रा साहित्यको कोशेढुङ्गाको संज्ञा दिएका छन् ।
नियात्रा लेखनीमा चमत्कारिक शैली प्रयोगका कारण दामोदर पुडासैनीले नेपालका हुम्ला, जुम्ला, मुगु, डोल्पा, सोलुखुम्बु, ताप्लेजुङ, रसुवा, मुस्ताँग, दोलखाजस्ता अति विकट हिमाली क्षेत्रको भ्रमण मात्र गरेनन् त्यहाँको भूगोल, संस्कृति, जनजीवन र समयचेतलाई शब्दचित्रमार्फत जादुगरी सिर्जना गरेका छन् । उनले एकातिर हिमाली साहित्य सिर्जनाको नेतृत्व गरिरहेका छन् भने अर्कातिर युरोप, अमेरिका, अफ्रिका र एसियाका धेरै देशहरू घुमेर पाठकहरूलाई अमूल्य कृतिहरू प्रदान गरेका छन् ।
देशका ७६ जिल्ला र विश्वका ५२ भन्दा बढी मुलुकहरूमा पाइला चालेर लेखेका कारण पनि दामोदर पुडासैनीका सिर्जनाहरू अरु ओजनदार बनेका छन् । पर्खाल भित्रको राजधानी दामोदर पुडासैनीको उपल्लो मुस्ताँग लगायत हिमाली भूगोल, संस्कृति र जनजीवन झल्काउने महत्वपूर्ण कृति हो । हुम्ला आफैंमा अत्यन्त विकट जिल्ला हो । हाम्रा हिमालका खोच, कन्दरा र लेखमा बसोवास गर्ने मान्छेहरूको जीवन समेटेको कृतिहरूको अभावप्रायः भैरहेको बेला दामोदर पुडासैनी किशोरको पर्खाल भित्रको राजधानीले पाठकको लामो र खरो प्यास मेटाउनेछ ।
हिमाली सौन्दर्य र हिम प्रदेशका मान्छेहरूको विशेष संस्कार, संस्कृति, खुशी र पीडा बुझ्न पनि पाठकहरूले पर्खाल भित्रको राजधानी अध्ययन गर्न जरुरी छ । यसै वस्तुतथ्यलाई मध्य नजर राखेर उपहार खबर डट कमले ‘पर्खाल भित्रको राजधानी विशेष स्तम्भ’ सुरु गर्न लागेको हो । यसैवेला लेखाजोखान्यूज डटकमले हरेक हप्ता पुडासैनीको ‘मायालु हुम्ला नियात्रा विशेष स्तम्भ’ प्रकाशित गरिरहेको छ भने कारोबार न्यूज डट कमले पुडासैनीको हिमालको आवाज़ कविता श्रृँखला पनि हरेक हप्ता प्रकाशित गर्दै आएको छ ।
उपहार न्यूज डटकमका आदरणीय सल्लाहकार वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को नियात्रा कृति सप्ताहव्यापि रूपमा प्रकाशित गर्न पाउँदा हामी उहाँप्रति आभार प्रकट गर्दछौं । यसबाट पाठकहरू पनि लेखकसँगै मध्य एशियाको अलौकिक र अति सुन्दर हिमाली क्षेत्रको भ्रमण गरेको रस्वादन गर्न सफल हुनेछन् भन्ने हाम्रो विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्