पोल्याण्ड सरकारद्वारा खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण

पोल्याण्ड– कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ ।

राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पतालमा परिणत गर्ने निर्णय भए अनुसार निर्माण गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । पोल्यान्ड सरकारका अनुसार झण्डै पाँच सय विरामीलाई कोठा पुग्नेगरी पुनर्निमाण भइरहेको हो । ती कोठाहरुमा आवश्यकता परेका विरामीलाई अक्सीजन सहितको व्यवस्था गर्न लागिएको छ ।

तर त्यो अस्पतालका लागि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था भने सरकारले कसरी गर्न सक्छ भन्ने बारेमा अहिलेसम्म पनि अस्पष्ट रहेको छ । पोल्याण्डमा अहिले स्वास्थ्यकर्मीहरुको कमी भएको छ । अस्थायी अस्पताल बनाउन लागिएको रंगशालामा ५८ हजार ५०० जना दर्शक बस्न मिल्ने क्षमता रहेको थियो । युरो २०१२ फुटबल च्याम्पीयनसिप सञ्चालन गर्नका लागि यसको निर्माण गरिएको थियो । त्यो प्रतियोगिताका लागि पोल्याण्ड र युक्रेनले व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

पोल्याण्डमा पछिल्लो केही दिनमा थप सात हजार ४८२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्