भदौ १ गतेबाट सिन्धुपाल्चोक जिल्लामा लकडाउन गरिने

सुशील सुवेदी, सिन्धुपाल्चोक

छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने भन्दै भदौ १ गतेबाट लकडाउन गरिने भएको छ । शनिबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकले भदौ १ बकाट एक सातासम्मको लागि जिल्लामा लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराइने निर्णय भएको छ ।

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो । यो निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।

होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक, गैर सरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न दिनको ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ । लकडाउनको समयमा सबै नागरिक सामाजिक दुरी कायम गर्दै घर भित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गर्नुभएको छ । अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्