जुगलको लिदीमा पहिरो जाँदा २७ घर पुरिए ; ३५ बढीको मृत्युको आशंका, उद्दारमा पुगेको सभामुखको हेलिकप्टर अवतरण हुन सकेन

सुशील सुवेदी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदीमा पहिरोले २७ घर पुरिएको छ । शुक्रबार विहान ६ बजे गएको पहिरोले ३५ जनाको मृत्यु भएको स्थानीयले अनुमान गरेका छन् । स्थानीयले २७ घर पुरेको र ३५ जनाको मृत्युभएको जनाएपनि प्रहरीले भने एकीन तथ्याङ्क आइनपुगेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद काफ्लेले प्रहरीहरु घटनास्थल पुग्दै गरेको कारण एकीन तथ्याङ्क आइ नसकेको बताउनुभयो । तर स्थानीय पेशलाल दोङको अनुसार पहिरोमा परेर ३५ को मृत्यु भइसकेको छ भने २७ घर पुरेको छ । जसमध्ये २२ घर पूर्ण रुपमा पुरिएको र ५ घर आंशिक रुपमा क्षति भएको छ ।

यता गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार पहिरोमा १३ घर पुरीएको छ । सो मध्ये ५ घरका व्यक्तिहरु सम्पर्कविहिन भएका छन् भने सम्पर्कविहिन भएका मध्ये १३ जना एकीन भइसकेको छ । १५ जना घाइतेहरु लप्सेचौरमा निस्कनुएको श्रेष्ठले जानकारी दिनुभयो । पहिरोबाट थप ३० घर प्रभावित भएको जानकारी दिँदै उहाँले माथिबाट पहिरो झरिरहेको र तरबाट पनि बगिरहेकोले उद्दारमा कठिनाइ भइरहेको बताउनुभयो । गएको साउन २३ गते सो ठाउँका स्थानीयले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएका थिए ।

तर विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले खासै चासो नदिएका कारण यस्तो दुर्घटना हुन पुगेको स्थानीय आशबहादुर तामाङले बताउनुभयो । तामाङका अनुसार २६ मेघावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणको क्रममा विष्फोटन गर्दा जमिन हल्लिएका कारण पहिरो गएको हो । ‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका ५ सय भन्दा बढी घरहरु जोखिममा परेको बताएको तामाङले बताउनुभयो । पहिरो गएको क्षेत्रमा सभामुख अग्नीप्रसाद सापकोटा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललगायतको टोली उद्दारका लागि आएपनि घटनास्थल पुग्न नसक्दा चौतारामा हेलिकप्टरको अवतरण गरिएको छ ।

चौतारामा झरेर उद्दारका लागि सभामुखले ४ जना सेना र एक जना इन्जिनियरलाई त्यसतर्फ पठाईएको जनाएको छ । त्यस्तै रेडक्रसले पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्