आइसोलेसन निर्माण र क्वारेन्टिन क्षमता विस्तारमा आलटाल

FILE PHOTO

काभ्रेपलाञ्चोकका स्थानीय तहले कोरोना भाइरस सङ्क्रमणलक्षित आइसोलेसन निर्माण तथा क्वारेन्टिनको क्षमता विस्तारमा आलटाल गरेका छन् । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले स्थानीय तहलाई क्वारेन्टिनको क्षमता विस्तार गर्न ताकेता गरेको पनि दुई महिना बितिसकेको छ ।

स्थानीय तहलाई क्वारेन्टिनको क्षमता १०० शयामा विस्तार गर्न आग्रह गरिएको दुई महिना तथा आइसोलेसन निर्माण गर्न आग्रह गरिएको केही हप्ता बितेको पोष्टले जनाएको छ । केन्द्र तथा पोष्टले आफ्ना हरेक बैठकमा यी दुवै कार्यका लागि स्थानीय तहसँग आग्रह गरिएको निर्णय सार्वजनिक गर्दै आएका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये १० लाई न्यूनतम १० श्ययाको आइसोलेसनकक्ष व्यवस्थित गर्न आग्रह गरिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।

झाका अनुसार हाल बनेपा नगरपालिकाले पाँच, पनौती नपामा १५ र पाँचखाल नपाले सात श्ययाको आइसोलेसन तयार गरेका छन् । बुधबार मात्रै स्थानीय तहमा गरिएको अनुगमनपछि तोकिएको सङ्ख्यामा शीघ्र आइसोलेसन श्यया तयार गर्न अनुरोध गरिएको झाले बताए । “कोरोना सङ्क्रमण उच्च जोखिम बढ्दै गएकाले स्थानीय तहमै आइसोलेसन श्यया निर्माण गर्ने तयारीमा लागेका हौँ”, झाले भने । हालसम्म काभ्रेपलाञ्चोकमा सङ्क्रमित २१ मध्ये सात उपचारपछि घर फर्किएका छन् ।

यस्तै स्थानीय तहमा व्यवस्थित गरिएका क्वारेन्टिनको क्षमता विस्तार गरी १०० श्ययाको पु¥याउन पटक–पटक ताकेता गरिएको जनाइएको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तहका क्वारेन्टिन १०० श्ययाको बनाउनैपर्ने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “११ हजारभन्दा बढी काभ्रेपलाञ्चोकका नागरिक विदेशमा बसेको तथ्याङ्कका आधारमा क्वारेन्टिन १०० श्ययाको बनाउनटैपर्ने जरुरी देखिन्छ ।” उनका अनुसार विदेशिएका काभ्रेली आउने क्रम जारी रहेकाले स्थानीय तहले तोकिएको सङ्ख्यामा क्वारेन्टिनको क्षमता विस्तार तथा आइसोलेसन श्यया बनाउनुपर्ने हुन्छ । हाल १३ स्थानीय तहमा ८५१ श्ययाको क्वारेन्टिन व्यवस्थित छन् ।

नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्माले आवश्यकता परेका बेला आफ्नो क्षमताअनुसार क्वारेन्टिनको क्षमता विस्तार गर्दै जाने बताए । “आवश्यकता परेपछि सोहीअनुसार क्वारेन्टिनमा श्यया सङ्ख्या बढाउँछौँ, श्यया सङ्ख्या मात्रै बढाएर हुन्न, सेवासुविधा पनि दिन सक्नुर्छ”, उनले भने । पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम गर्न नगरसभाका कारण आइसोलेसन निर्माणकार्य प्रभावित बनेको उनले भने ।

उता पाँचखाल नगरले भने केन्द्र तथा पोष्टको आग्रहअनुसार क्वारेन्टिन र आइसोलेसनकक्षको क्षमता विस्तार गर्दै जाने जनाएको छ । “दुवैका क्षमता विस्तारका लागि स्रोतसाधनको जोहो गर्दैछौँ”, नगरप्रमुख महेश खरेलले भने । उक्त नगरका ४० श्ययाको क्वारेन्टिन तथा सात श्ययाको आइसोलेसनकक्ष व्यवस्थित गरिएको छ भने हाल क्वारेन्टिनमा तेस्रो मुलुकबाट फर्किएका १४ स्थानीय बसिरहेका छन् । पोष्टका अनुसार हालसम्म तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका २४५ नागरिक फर्किएका छन् । विश्वव्यापी रुपमा कारोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सरकारले तस्रो मुलुकबाट नेपाली स्वदेश फर्काउने क्रममा २४५ काभ्रेली फर्किएका हुन् ।

उनीहरूमध्ये हाल १८२ स्थानीय तहका क्वारेन्टिनमा बसेका छन् । अन्य नागरिक क्वारेन्टिन अवधि सकिएर घर फर्किएका छन् भने केहीलाई कोरोना भाइरस देखिएपछि उपचाररत अवस्थामा रहेको पोष्टले जनाएको छ । तेस्रो मुलुकबाट फर्केलगत्तै काठमाडौँको बसुन्धरास्थित वाग्मती प्रदशेको ‘होल्डिङ सेन्टर’ बसेका काभ्रेलीलाई धुलिखेल ल्याई स्थानीय तहको जिम्मा लगाइने गरिएको छ ।

हालसम्म विदेशबाट आएकाहरू स्थानीय क्वारेन्टिनमा बसेका छन् । होम क्वारेन्टिनमा बस्न चाहनेलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिमको होम क्वारेन्टिनसम्बन्धी नियम पालना गर्ने गरी होम क्वारेन्टिन बस्ने अनुमति दिइने जनाइएको छ । साथै तेस्रो मुलुकबाट आई आफैँ खर्च व्यहोर्न चाहनेलाई पर्यटकीय नगरी धुलिखेलका सुविधासम्पन्न होटल क्वारेन्टिनसमेत व्यवस्थित गरिएको छ । सरकारद्वारा जारी निर्देशिकामा सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टिन र थप सात दिन होम क्वारेन्टिनमा राख्नुपर्ने प्रावधान उल्लेख छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कले देखाएको छ ।

तेस्रो मुलुकबाट आउनेले पिसीआर परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टिनमा बसाइ तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई होम क्वारेन्टिनमा बसाइने गरिएको छ ।पोष्टका अनुसार हालसम्म भारतलगायत विदेशबाट फर्केका ६८२ पुरुष र १४३ महिला क्वारेन्टिनमा बसिसकेका छन् । मजदुरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा बस्दै आएको तथ्याङ्क छ ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्