बेलायतले बनाइरहेको कोरोना विरुद्धको खोप यसै साता सार्वजनिक हुने, अनुसन्धानकर्ता उत्साहित

कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाले यसै साताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्सले बेलायती टेलिभिजन नेटवर्क ’आइटिभी’ का राजनीतिक सम्पादक रोबर्ट पेस्टनलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो ।

’अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले परीक्षण गरिरहेको कोरोना खोपमा छिट्टै (सम्भवत आज नै) सकारात्मक खबर सुन्न पाइने छ,’ रोयटर्सले उद्धृत गरेको पेस्टनको ब्लगमा उल्लेख छ । तेस्रो चरणको मानवीय परीक्षण क्रममा रहेको यो खोपलाई लिएर निर्माताहरू उत्साहित छन् । उनीहरूले यसै महिना अहिलेसम्मको परीक्षणबाट आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिएका थिए । यसले परीक्षणमा सहभागी व्यक्तिहरूमा कोरोना भाइरसविरूद्ध प्रतिरोधक क्षमता बढाउन सकारात्मक काम गरेको उनीहरूले बताएका छन् ।

पहिलो चरणको परीक्षण नतिजा जुलाई अन्त्यसम्म सार्वजनिक हुने रोयटर्सले लेखेको छ । पहिलो चरणको क्लिनिकल परीक्षण क्रममा बेलायतका १ हजार १ सय जनालाई खोप लगाइएको थियो । यसको नतिजा ’ल्यान्सेट’ भन्ने मेडिकल जर्नलले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयकी प्रवक्ताले नतिजा प्रकाशन निम्ति मेडिकल जर्नलको निर्णय कुरिरहेको बताएकी छन् । ’कहिले प्रकाशन हुन्छ भनेर अहिल्यै भन्न सकिन्न,’ उनले रोयटर्सलाई भनेकी छन् ।

संसारभरि कोरोना भाइरसविरूद्ध सयभन्दा बढी खोप परीक्षण भइरहेका छन् । तीमध्ये अक्सफोर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाको अनुसन्धानलाई अग्रणी मानिएको छ । यो अनुसन्धानलाई तीव्रता दिन अमेरिकाले समेत एक अर्ब २० करोड डलरसम्म उपलब्ध गराउने निर्णय गरेको थियो । यसलाई कोरोना खोप विकास गर्ने बेलायती परियोजनामा अमेरिकी लगानीका रूपमा लिइएको छ । यो लगानीको बदलामा अमेरिकाले परीक्षण सफल हुनेबित्तिकै ३० करोड वटा खोप आफ्नो निम्ति बुक गरेको छ ।

महामारीको पछिल्लो अवस्था हेर्दा संसारभरि अर्बौं डोज खोप आवश्यक पर्नेछ । विश्वव्यापी माग हेरेर बेलायती–स्वीडिस कम्पनी आस्ट्राजेनेकाले अनुसन्धान सँगसँगै उत्पादन क्षमता विस्तार गर्न विभिन्न देशका सरकार तथा संस्थाहरूसँग सम्झौता गरेको छ ।

कम्पनीको उत्पादन क्षमता अहिले नै एक अर्ब डोज छ भने पहिलो चरणमा कम्तिमा ४० करोड डोज उत्पादन गर्नेछ । पहिलो खेपको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने कम्पनीले दाबी गर्दै आएको छ । विश्वभरि सस्तो र सहज रूपमा खोप उपलब्ध होस् भनेर आस्ट्राजेनेकाले संसारका सात देशबाट एकैचोटि उत्पादन गर्ने लक्ष्य राखेको छ । यसका लागि विभिन्न देशका औषधि उत्पादक कम्पनीहरूसँग सम्झौता प्रक्रिया अघि बढेको छ । यसमा भारतको सेरम इन्स्टिच्यूट अफ इन्डिया पनि एक हो । उक्त कम्पनीले गरिब तथा विकासोन्मुख देशहरूमा खोप उपलब्ध गराउनेछ ।

अमेरिकाको बायोटेक कम्पनी ‘मोडर्ना’ ले पनि आफूले परीक्षण गरिरहेको खोप सुरक्षित रहेको र भाइरसविरूद्ध प्रतिरोधात्मक क्षमता बढाउन सफल भएको जनाएको छ । मोर्डनाले क्लिनिकल परीक्षण क्रममा ४५ जना स्वस्थ व्यक्तिलाई कोरोनाविरूद्ध खोप दिएको थियो ।मोर्डनाले गत मे महिनाबाट दोस्रो चरणको परीक्षण सुरू गरेको हो । तेस्रो चरणको परीक्षण जुलाई २७ बाट सुरू हुने कम्पनीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्