कोरोनाको स्रोत खोजी गर्दै डब्लुएचओको टोली चीनमा

बेइजिङ – कोरोनाभाइरसको उत्पत्तिको स्रोतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन पुगेका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन पुगेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले सोमबार पुष्टि गरे ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरू अध्ययनका लागि चीन पुगेका हुन् । दैनिक पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता हुआले अध्ययनका लागि आएका डब्लुएचओका विज्ञहरूले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने जानकारी दिए ।

“उनीहरूले हाम्रा विज्ञहरूसँग सम्बन्धित विषयमा प्रश्नहरू गर्नेछन् र हाम्रा विज्ञहरूले जानकारी दिनेछन्,” प्रवक्ता हुआले भने । डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरूले यस्तै छलफलका लागि अन्य देशहरूमा पनि जान सक्ने उनले बताए ।

“कोरोनाभाइरसको विकासका लागि विभिन्न देश तथा क्षेत्रहरूमा धेरै चरण पूरा गर्नुपरेको डब्लुएचओले पनि विश्वास गरेको छ, त्यही चरणहरूका बारेमा पहिचान गर्न उनीहरू आएका हुन्,” उनले भने । धेरै ठाउँमा धेरै चरणबाट कोरोनाभाइरसको विकास भएकाले उनीहरू आवश्यकता अनुसार अन्य देशहरूमा पनि जानसक्ने उनले पत्रकारहरूलाई जानकारी दिए । यसअघि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रयेससले अघिल्लो महिना भनेका थिए, “कोरोनाभाइरसको स्रोत के हो भन्ने कुरा पत्ता लगाउनु धेरै महत्वपूर्ण हुन्छ ।”

यो विज्ञानसँग सम्बन्धित, सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित विषय भएको, यसले सबैलाई प्रभावित पारेको र सरोकारको विषय भएकाले कसरी शुरु भयो, कहाँ उत्पत्ति भयो भन्ने कुरा पत्ता लगाउनुपर्ने उनको भनाइ थियो । कोरोनाभाइरस पहिलो पटक सन् २०१९ को डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका अधिकांश देशहरूमा कोभिड–१९ को महामारी फैलिएको थियो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्