मानसिक सन्तुलन गुमाएकी महिलालाई जोगाउन खोज्दा तीन जनाको ज्यान गयो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी–७ दहीखोलामा बिहीबार राति भएको जिप दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ । मानसिक सन्तुलन गुमाएकी महिलालाई बचाउन खोज्दा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्करपियोले सोही दिशातर्फ पैदल जाँदै गरेकी ती महिलालाई ठक्कर दिँदा महिलाको पनि घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार स्करपियोले महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भई पुनः अर्को दुर्घटना भएको थियो ।
अनियन्त्रित बनेको स्कारपियोले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र मोटरसाइलको पछाडि सवार ३५ वर्षीय पहिचान नखुलेका अर्का एक पुरुषको मृत्यु भएको छ । पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको हो ।
सडक किनारमा सधैंजसो हिँडिरहने मानसिक सन्तुलन ठीक नभएकी महिलालाई बचाउने क्रममा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
प्रहरीले स्करपियो धनीसमेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई कानेपोखरीकै रमाइलोबाट राति १० बजे नियन्त्रणमा लिएको छ । मृतक दुई जनाको अझै सनाखत हुन सकेको छैन ।

गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्