कोरोना भाइरसको औषधि पत्ता लाग्यो ?

कोरोनाभाइरसको संक्रमणपछि सिकिस्त बिरामी परेकाहरुको ज्यान बचाउन एउटा सस्तो र सजिलै उपलब्ध हुने औषधीले जोगाउन सकिने पत्ता लागेको छ ।

कम डोजको स्टेरोयड डेक्सामेथासोन नामक औषधीलाई बेलायतका विज्ञहरुले कोरोनाभाइरसविरुद्धको लडाईंमा ठूलो सफलता मानेका छन् ।

विश्वभर कोरोनाभाइरसविरुद्ध विभिन्न औषधीहरुको प्रयोग भइरहेका छन् । परीक्षणमा रहेका ती औषधीमध्ये यो एक हो ।

यसले भेन्टिलेटरमा बिरामीको मृत्युको जोखिमलाई १ तिहाइले कम गर्ने बताइएको छ । त्यस्तै, अक्सिजन चाहिएका बिरामीहरुको मृत्युलाई १/५ ले कम गर्ने बताइएको छ ।

यदि महामारीको सुरुवातमा नै यो औषधी प्रयोग गरिएको भए ५ हजारभन्दा बढीको ज्यान जोगाउन सकिने थियो भन्ने अध्ययनकर्ताहरुको भनाइ छ ।

कोभिड–१९ सँग संघर्षरत देशका लागि यो औषधी ठूलो बरदान हुने आशा गरिएको छ ।

बेलायत सरकारसँग यसको २ लाख कोर्स स्टकमा रहेको र अब एनएचएसले बिरामीहरुलाई यो औषधी प्रदान गर्ने बताएको छ ।

२० मध्ये १९ जना कोरोनाभाइरसका बिरामी अस्पतालमा भर्ना नभइ नै निको हुने गरेका छन् । अस्पतालमा भर्ना भएका मध्ये पनि धेरै त्यतिकै निको हुने गर्छन् तर केहीलाई भने अक्सिजन र भेन्टिलेटरको आवश्यकता पर्दछ ।
त्यस्ता जोखिम भएका बिरामीलाई डेक्सामेथासोनले मद्दत गर्ने देखिएको छ । यो औषधीलाई यसअघि पनि इन्फ्लेमसनमा प्रयोग गरिन्थ्यो ।

यसले कोरोनाभाइरसविरुद्ध हाम्रो शरीरको प्रतिरोधात्मक शक्तिले देखाउने प्रतिक्रियाको नकारात्मक असरलाई पनि कम गर्ने बताइएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले अस्पतालमा भर्ना भएका २ हजार बिरामीलाई डेक्सामेथासोन दिएका थिए । अन्य ४ हजारलाई भने यो औषधी दिइएन ।

प्रयोगपछि अध्ययनकर्ताको निश्कर्ष थियो – यो औषधी दिएपछि भेन्टिलेटरमा रहेका बिरामीहरुको मृत्युको जोखिम ४० बाट २८ प्रतिशतमा झरेको थियो । त्यस्तै, अक्सिजन चाहिएका बिरामीको मृत्युको जोखिम २५ बाट २० प्रतिशतसम्म कम भएको थियो ।

यस अनुसन्धानका प्रमुख प्राध्यापक मार्टिक ल्यान्ड्रीका अनुसार यो औषधी विश्वभर सजिलै पाइन्छ र सस्तो पनि छ । करिब ३५ पाउन्ड (करिब ५४ सय नेपाली रुपैयाँ) खर्च गरे एक बिरामीको ज्यान जोगाउन सकिनेछ ।
स्रोत : बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्