मेलम्ची खानेपानी आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने स्थानीय ठेकेदारको चेतावनी

सुशील सुवेदी
सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। मजदुर, स्थानीय ठेकेदार र मेलम्ची खानेपानी आयोजनाबीच भदौ २९ गते भएको ५ बुँदे सहमतिपछि पीडित पक्षले गर्दै आएको आन्दोलनका सबै कार्य स्थगित गर्ने निर्णय भएको थियो ।

खानेपानी मन्त्रालयमा भएको उक्त सहमतिप्रति असन्तुष्ट केही स्थानीय भेन्डर तथा सप्लायर्सले पुनः आयोजनाविरुद्ध कडा आन्दोलनको तयारी गरिएको स्थानीय सप्लायर्सहरूले बताएका छन् । खानेपानी मन्त्रालयका सचिवको नेतृत्वमा संघर्ष समितिका अध्यक्ष र एक जना सदस्यले मात्र वार्ता गरेको सहमति सिंगो भेन्डर तथा सप्लायर्सको हितमा नभएकाले पुनः आन्दोलन गर्ने बताइएको छ । मेलम्ची खानेपानी आयोजनाको यसअघिको इटालियन ठेकेदार कम्पनी (सिएससी)ले बीचमा नै आयोजनाको काम छाडेर भागेपछि सिएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदारहरू लामो समयदेखि आन्दोलनमा छन् ।

गत भदौ १८ गतेबाट आयोजना पीडितहरूले शान्तिपूर्ण आन्दोलनको सुरुवात गरेपनि १९ गते आयोजनाको मुहानस्थल अम्बाथानमा दोहोरो झडप हुदाँ प्रहरीले आन्दोलनकारी माथि १२ शेल अश्रुग्यास प्रहार गरेको थियो भने दुई जना मजदुर घाइते भएका थिए । मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल र साइट कार्यालयमा आन्दोलन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञ समेत जारी गरेको थियो ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेसहित खानेपानी आयोजना, मजदुर प्रतिनिधि र स्थानीय ठेकेदारहरूबीच पाँच बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने भनिए पनि उक्त सहमतिले स्थानीय भेन्डर तथा सप्लायर्सको रकम भुक्तानीको सुनिश्चितता नभएको भन्दै पुनः कडा आन्दोलनको तयारी गर्नुपरेको बताइएको छ । स्थानीय मजदुरको रकममात्र थोरै दिएर हामीलाई आयोजनाले झुक्क्याएको पीडित सप्लायर्सहरूको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाले मजुदर र स्थानीय ठेकेदारहरूको माग पूरा गराउन एक प्राविधिक समिति समेत गठन गरेको तर त्यसले काम नगरेर स्थानीयको मागलाई बेवास्ता गरेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता रहेको सप्लायर्सहरूले बताए । स्थानीय भेन्डर तथा सप्लायर्सले इटालिएन ठेकेदार कम्पनी सिएमसीसँग मजदुर र स्थानीय आपूर्तिकर्ताले एक अर्ब ६७ करोड रुपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्