अमेरिकामा हिंसा भड्कियो, हजारौँ गिरफ्तार, ४० शहरमा कर्फ्यू

एजेन्सी – थुनामा रहेकै बेला अफ्रिकी मुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन । देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० सहरमा कफुर्यु आदेश जारी गरेका छन् ।

केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौंलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो । उनलाई एक स्वेत प्रहरीले हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो । सयौँ मानिसहरूले ४६ बर्षीय फ्लोइडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए । देशभरका झण्डै १४० सहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा कम हुने गरेको एक अधिकारीले बताएका छन् ।

गत छ दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झण्डै दुई दर्जन सहरहरुबाट प्रहरीले दुई हजार ५६४ जनालाई पक्राउ गरेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरिसकिएको जनाएको छ भने दोषीलाई कारबाही गरिने भएकाले आन्दोलित नहुन सरकारी अधिकारीहरुले आग्रह पनि गर्दै आएका छन् । प्रहरीले कतिपय ठाउँमा अश्रु ग्यास र लाठी चार्ज गरेपनि प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न कठिन परिरहेको छ । जर्जियास्थित सीएनएनको कार्यालय नजिकै विरोध गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा कार जलाइदिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्