सुरक्षित मातृत्व कार्यक्रममा अब्बल बन्दै हेलम्बु: इचोक स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उलेख्य प्रगति भएको बताएको छ ।
शनिबार उपहार खबरसँग संक्षिप्त कुरा गर्दै गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानेन्द्र सिग्देलल गाउँपालिकामा २ वटा बर्थिङ सेन्टरबाट सुत्केरी महिलाहरुले सेवा लिइरहेको जानकारी दिए । वडा नं. ७ र वडा नं. ५ मा २ वटा बर्थिङ सेन्टरको स्थापना गरिएको छ । वडा नं. ७ मा रहेको इचोक स्वास्थ्य चौकीबाट मात्रै चालु आर्थिक वर्षमा १०२ जनाले सुत्केरी सेवा लिएको संयोजक सिग्देलले जानकारी दिए । वडा नं. ५ मा रहेको बर्थिङ सेन्टरबाट २८ जनाले सेवा लिएको उनले बताए । गाउँपालिकाले सुरक्षित मातृत्व कार्यक्रम अन्तरगत यो कार्यक्रम संचालन गरिरहेको उनको भनाइ छ । पहिलो वर्ष ५ जनाले सुत्केरी सेवा लिएको इचोक स्वास्थ्य चौकीमा दोस्रो वर्ष ५५ र चालु वर्षमा १०२ जनाले सेवा लिइसकेका छन् । गाउँपालिकाभर २ वटा बर्थिङ सेन्टर सहित ९ वटा स्वास्थ्य संस्था रहेका छन् । ५ वटा स्वास्थ्य चौकी, २ वटा स्वास्थ्य इकाइ र २ वटा बर्थिङ सेन्टरबाट हेलम्बु बासीले स्वास्थ्य सेवा लिइरहेका छन् । इमरजेन्सीको लागि बर्थिङसेन्टरमा अक्सिजन सिलिन्डर समेत राखिएको छ । इचोकमा रहेको बर्थिङ सेन्टरमा भिडियो एक्सरेको समेत व्यवस्था गरिएको संयोजक सिग्देलले बताए ।

सिन्धुपाल्चोक जिल्लाभरीका स्वास्थ्य चौकी मध्ये सबैभन्दा बढी सुत्केरी सेवा दिने स्वास्थ्य चौकीमा इचोक स्वास्थ्य चौकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले पुष्टि गरे । उनले भने, “गाउँपालिकाको राम्रो व्यवस्थापनले गर्दा छोटो समयमा धेरैको मन जित्न सफल स्वास्थ्य चौकी हो, सदरमुकाम चाैतारबाट टाढा भएपनि व्यवस्थापन राम्रो भएकै कारण धेरैले सेवा लिएका हुन् ।”

सरकारले उपलब्ध गराउँदै आएको सुत्केरी भत्ता वाफतको ३ हजार रुपैयाँमा गाउँपालिकाले थप ३ हजार दिने गरेको गाउँपालिका अधयक्ष निमा ग्याल्जेन शेर्पाले बताए । सुत्केरीलाई कुनै समस्या भएर रिफर गर्नुपरेमा गाउँपालिकाले निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी कुरुवाको लागि छुट्टै घरको निर्माण समेत गरिएको छ । सुत्केरी कुर्न आउने र सुत्केरीलाई खान बस्नको व्यवस्था गाउँपालिकाले निशुल्क गरेको छ । गाउँबासीको स्वास्थ्यलाई विशेष ध्यान दिदै यस अघि नै गाउँपालिका भरीका दिर्घरोगीहरुलाई निशुल्क औषधि वितरण गरिएको थियो । चिकित्सक सहित अध्यक्ष शेर्पा नै घर–घरमा पुगि दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्