लुम्बिनीका ओपनर आसिफ शेख सात रन बनाएर रनआउट भए। त्यसपछि क्रिजमा आएका डार्सी सर्टले आक्रामक सुरुवात गरे पनि ६ बलमा १३ रन बनाएर आउट भए। उनलाई विपिन खत्रीले आकाश चन्दको हातबाट क्याच गराएका थिए। लुम्बिनीले १.६ ओभरमै २१ रन बनाउँदा दुई विकेट गुमाएको थियो। त्यसपछि रोहित र डिक्वेलाले जिम्मेवार ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९७ रन बनाएको थियो। पोखराको सुरुवात निकै कमजोर रह्यो। ओपनर अर्जुन कुमाल दोस्रो बलमै खाता नखोली आउट भए। सदीरा समरविक्रमाले सात र विपिन आचार्यले एक रन मात्र बनाउन सके। कप्तान कुशल भुर्तेलले २० बलमा १४ रन बनाए भने शाकिब अल हसन आठ बलमा तीन रन जोडेर आउट भए।
पोखराले ८.३ ओभरमा ३१ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। त्यसपछि महेदी हसन र अर्जुन घर्तीले छैटौँ विकेटका लागि १९ रनको साझेदारी गरे। महेदीले २४ बलमा १३ तथा घर्तीले २० बलमा ६ रन बनाए। अन्तिम ओभरतिर चामिका करुणारत्नेले १७ बलमा २५ रन जोड्दै टोलीको स्कोर बढाए। किरण ठगुन्नाले पनि छ बलमा १२ रन बनाएपछि पोखरा ९७ रनसम्म पुग्न सफल भयो।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले चार ओभरमा १६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। तिलक भण्डारीले दुई विकेट हात पार्दा शेर मल्ल, अभिषेक गौतम र रोहित पौडेलले समान एक विकेट लिए। यो जितसँगै लुम्बिनीले तीन खेलबाट पाँच अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको थियो भने वर्षाका कारण एक खेल रद्द भएपछि अंक बाँडेको थियो। पोखराको भने प्रतियोगितामा यो लगातार तेस्रो हार हो। तीन खेल खेलेको पोखरा अंकविहीन रहँदै तालिकाको पुछारमा रहेको छ।




