काठमाडौं – नेपाल टेलिकमले नयाँ फाइबर इन्टरनेट (एफटीटीएच) जडानका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने व्यवस्था सुरु गरेको छ । सस्तो इन्टरनेट प्याकेज सार्वजनिक गरेपछि ग्राहकको चाप बढेर ग्राहक सेवा नम्बर १९८ मा सम्पर्क गर्न समस्या भएपछि टेलिकमले अनलाइन विकल्प ल्याएको हो ।
निजी इन्टरनेट सेवा प्रदायकहरूले शुल्क बढाएपछि नेपाल टेलिकमले हालै वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको थियो । उक्त प्याकेज सार्वजनिक भएसँगै नयाँ जडानका लागि ग्राहकको चाप बढेको हो । यसअघि टेलिकमले नयाँ इन्टरनेट जडानका लागि १९८ नम्बरमा सम्पर्क गर्न आग्रह गर्दै आएको थियो । तर, उक्त नम्बरमा फोन गर्दा लामो समय प्रतीक्षा गर्नुपर्ने, फोन नउठ्ने तथा कल बीचमै काटिने समस्या रहेको भन्दै सेवाग्राहीले गुनासो गर्दै आएका थिए ।
पूर्वअर्थमन्त्री रामेश्वर खनालले समेत सामाजिक सञ्जालमार्फत टेलिकमको सेवाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले तीन दिनदेखि नेपाल टेलिकमको एफटीटीएच सेवा नचलेको र दर्जनौँ पटक १९८ नम्बरमा फोन गर्दा पनि समस्या समाधान नभएको बताएका थिए । सामाजिक सञ्जालमा गुनासो गरेपछि समस्या समाधान भएको उल्लेख गर्दै उनले टेलिकमको सञ्जाल अनुगमन टोलीलाई धन्यवाद दिएका थिए ।
टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार हेल्पलाइन नम्बर १९८ मा अत्यधिक चाप बढेपछि सेवाग्राहीको सहजताका लागि अनलाइनबाट अनुरोध गर्न सकिने सुविधा थप गरिएको हो । “अनलाइनबाट आफ्नो विवरण राख्ने ग्राहकलाई कार्यालयबाटै फोन जान्छ,” प्रवक्ता लामिछानेले भने, “हामी प्याकेजबारे विस्तृत जानकारी गराएर जडानका लागि टोली खटाउँछौँ ।” नयाँ व्यवस्थासँगै ग्राहकले हेल्पलाइनमा लामो समय प्रतीक्षा नगरी अनलाइनमार्फत नयाँ एफटीटीएच जडानका लागि अनुरोध गर्न सक्नेछन् ।





Welcome to popups plugin