काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा दुई दिन अष्टमी तिथि परेकाले आज पनि महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ ।
समितिबाट स्वीकृति प्राप्त पात्रोमा हिजो र आज दुवै दिन महाअष्टमी उल्लेख छ । दशैँ घर वा पूजा कोठामा हिजो गरिएको महाअष्टमीको कर्म आज पनि दोहोर्याउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।
असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने गएराति नै गरिएको छ । अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र दस रातको भएको छ । विजयादशमीका दिन टीका लगाउँदा दस रातका जमरा लगाइनेछ । देवीको साधना, पूजा तथा आराधना एक दिन बढी गर्दा कुनै फरक नपर्ने धर्मशास्त्रविद्को भनाइ छ ।
यसैबीच, राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा आज राति गरिने भएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार समितिसँगको परामर्श र तलेजुका पुजारीको परम्पराअनुसार यस्तो निर्णय गरिएको हो ।
हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेलगत्तै अर्को दिन महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले आज राति कालरात्रि पूजा गर्न लागिएको उहाँले बताउनुभयो ।
हनुमानढोका दरबारको दशैँ घरमा हिजो महाअष्टमीको सामान्य पूजा गरिएको थियो । मूल पूजा भने आज गरिने दरबार हेरचाह अड्डाले जनाएको छ ।





Welcome to popups plugin