काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। नेपालले मंगलबार भएको खेलमा घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो। नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रन बनाउँदै अलआउट भयो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। ओमानले ४१ रन बनाउँदा ६ विकेट गुमाइसकेको अवस्थामा शुक्ला र जे ओडेद्राले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरेका थिए। तर, उनीहरूको प्रयास जितका लागि पर्याप्त हुन सकेन।
नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान तीन–तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे। यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन जोडे। त्यस्तै अर्जुन कुमालले ४० रन तथा ईशान पाण्डे र बसिर अहमदले समान ३७ रनको योगदान दिए।
ओमानका शाह फैसल, शकील अहमद र करण सोनावाले समान दुई–दुई विकेट लिए। नेपाली ब्याटरहरूको संयमित र आक्रामक प्रदर्शनले नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएको थियो।
यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले आइतबार क्यानडालाई २४ रनले पराजित गरेको थियो। लगातार दुई जितसँगै नेपालले शृङ्खलामा आफ्नो प्रदर्शन सुधार गरेको छ।
यो जितपछि नेपालले विश्वकप क्रिकेट लिग–२ मा ३४ खेलबाट २८ अंक जोड्दै छैटौँ स्थान कायम गरेको छ। ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा रहेको छ।
लिग–२ को शीर्ष चार स्थानमा पुग्ने सम्भावना गुमाइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन शीर्ष छभित्र रहनु महत्वपूर्ण बनेको छ। त्यसैले बाँकी खेलमा पनि जित हासिल गर्दै अंकतालिकामा आफ्नो स्थान सुरक्षित गर्नु नेपालका लागि आवश्यक छ।




