काठमाडौं –आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले घरेलु टोली ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको हो।
नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाउनुभयो। करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन जोड्नुभयो। त्यस्तै, अर्जुन कुमालले ४० तथा ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन बनाउनुभयो।
बलिङतर्फ ओमानका शाह फैसल, शकील अहमद र करण सोनावाले समान दुई-दुई विकेट लिनुभयो। यसअघि शृङ्खलाको पहिलो खेलमा नेपालले आइतबार क्यानडालाई २४ रनले पराजित गरेको थियो। लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि ओमानविरुद्धको खेल लिग-२ को अङ्कतालिकामा आफ्नो स्थिति सुधार गर्न महत्त्वपूर्ण छ।
लिग–२ मा शीर्ष चारभित्र पर्ने सम्भावना गुमाइसकेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन शीर्ष छभित्र रहनुपर्नेछ। उपलब्ध अङ्कतालिकाअनुसार नेपाल ३३ खेलबाट २६ अङ्कसहित छैटौँ स्थानमा छ। ओमान २९ खेलबाट ३३ अङ्क जोड्दै चौथो स्थानमा छ भने क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ स्थानमा रहेको छ।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याउँदै ओमानले ब्याटिङ गर्नेछ।




