संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि

काठमाडौं – संविधानप्रदत्त अधिकार कार्यान्वयनमा संघीय सरकारले ढिलाइ गरेको भन्दै ६ वटा प्रदेशका मुख्यमन्त्रीले असन्तुष्टि जनाएका छन्। विराटनगरमा आजदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी मुख्यमन्त्रीहरूले प्रदेशलाई संविधानले दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्।

सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको प्रभावकारितामै संघीयताको सफलता निर्भर रहने बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शीर्ष राजनीतिक नेतृत्व नै संघीयताप्रति इमानदार नदेखिएको आरोप लगाउनुभयो। यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशले संविधानअनुसार प्राप्त अधिकारको कार्यान्वयन मात्रै खोजेको स्पष्ट पार्नुभयो।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशहरू सबल नभएसम्म संघीयता सफल हुन नसक्ने धारणा राख्नुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानले परिकल्पना गरेको व्यवस्था र त्यसको व्यावहारिक कार्यान्वयनबीच ठूलो अन्तर रहेको बताउनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले अधिकारको अभावले कर्णालीका विद्यमान चुनौती थप जटिल बनेको गुनासो गर्नुभयो।

बजेट पारित गर्नेसम्बन्धी समस्या झेलिरहेका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भने सम्मेलनमा सहभागी हुनुभएन। भोलिसम्म सञ्चालन हुने सम्मेलनमा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गरी संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि साझा धारणा निर्माण गर्ने तयारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्