एनप्याब्सन काठमाडौंको दशैँ मिलन कार्यक्रम, शुभकामना आदानप्रदानसँगै शिक्षा ऐनबारे छलफल

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौंको आयोजनामा दशैँ मिलन, बधाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। आइतबार काठमाडौँको सुकेधारामा रहेको युनिभर्सल रिसेप्सनको हलमा काठमाडौँ जिल्ला अध्यक्ष अमृत कुमार खड्काको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख सुरेश कुमार जोशी रहुनुभएको थियो ।

कार्यक्रममा नेशनल प्याब्सन काठमाडौंका उपाध्यक्ष प्रेमकुमार भुजेलले स्वागत मन्तव्य राखेका थिए ।  कार्यक्रममा नवनिर्वाचित नगर अध्यक्षहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।  कार्यक्रम सञ्चालन सचिव रामबावु सेढाइले गर्नुभएको थियो ।

कार्यक्रममा प्रस्तावित शिक्षा ऐन, निजी विद्यालयका समस्या तथा समसामयिक शैक्षिक विषयमा छलफल गरिएको छ। कार्यक्रममा नगर अध्यक्षहरुले मन्तव्य राख्ने क्रममा आफ्नो धारणा राख्दै नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगरका अध्यक्ष राजिव सेढाईले शैक्षिक संगठनहरु तथा छाता संगठनहरुलाई नगर शिक्षा समितिमा अनिवार्य उपस्थित गराउनुपर्ने, नीजि विद्यालयहरुले विद्यार्थीहरुलाइ दिइरहेको छात्रवृत्तीको वास्तविक लेखाजोखा हुनुपर्ने माग राख्नुभयो । नीजि विद्यालयहरुले ५०/६० लाख बराबरको योगदान दिइरहेको अवस्थामा पनि लुटेराको संज्ञा दिइरहेकोप्रति खेद प्रकट गर्नुभयो । साथै विद्यालयहरुले योगदान गरेको रकम बराबर कर छुट हुनुपर्ने, पाठ्यक्रम निर्माण गर्दा नीजि विद्यालयको प्रतिनिधित्व नहुनुको कारण लगायतका विषयमा प्रस्तावित शिक्षा ऐनमा समावेश हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख सुरेश कुमार जोशीले चाडपर्वहरुको शुभकामना दिदैँ पूर्ववक्ताहरुले उठाएका शिक्षा ऐनका कुराहरुमा चासो व्यक्त गर्दै यी पक्षहरु संस्थागत ढंगबाट सरकार समक्ष पुर्याउनुपर्ने र सरकारले महत्वका साथ सम्बोधन गर्नुपर्ने साथै जायद मागहरु सम्बोधन हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले प्रस्तावित शिक्षा ऐनमा निजी विद्यालयसँग सम्बन्धित प्रावधानबारे आफ्नो धारणा राखेका थिए। उनले शिक्षा क्षेत्रका विद्यमान चुनौती तथा निजी विद्यालयका सरोकारलाई सम्बोधन गर्नुपर्ने विषयमा चर्चा गरेका थिए।

कार्यक्रमका सभापति तथा नेशनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत खड्काले प्रस्तावित शिक्षा ऐनमा निजी विद्यालयका सरोकार र मागलाई ध्यान दिनुपर्ने बताएका थिए।  साथै उहाँले करोडौँ, अर्वौ लगानी हुदा समेत लगानीको सुरक्षाको ग्यारेन्टी नभएको, नीजि क्षेत्रमार्फत शिक्षामा लगानी भित्र्याउने कुरामा समेत सरकार सचेत हुनुपर्ने माग राख्नुभयो । साथै उहाँले नयाँ पुस्तालाई संस्कृति, रीतिरिवाजसँगै प्रकृतिसँग जोडेर अगाडी बढ्ने कुरामा आफुहरु अप्ठेरोमा परेको र यसलाई जोड्न पाठ्यक्रमको माध्यमबाट सहजिकरण गर्नुपर्ने बताउनुभयो ।

दशैँको अवसरमा आपसी सद्भाव, भाइचारा तथा संगठनात्मक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेशनल प्याब्सनअन्तर्गतका विभिन्न नगर समितिका अध्यक्षहरूलाई सम्मान गरिएको थियो। साथै, नवनिर्वाचित नगर अध्यक्षहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमले निजी विद्यालय सञ्चालक, शैक्षिक नेतृत्व तथा सम्बन्धित निकायबीच आपसी संवाद, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुका साथै शिक्षा क्षेत्रका समसामयिक समस्या समाधानका लागि साझा पहल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्