बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं – बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ। अभियानमार्फत उबरले आफ्नो यातायात सञ्जाललाई विपद् राहत प्रयाससँग जोड्दै यात्रु र चालकलाई सहयोग अभियानमा सहभागी हुन आह्वान गरेको हो।

अभियानअन्तर्गत उबरले बाढी प्रभावित समुदायको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उक्त रकम आपत्कालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनाका कार्यमा उपयोग गरिने कम्पनीले जनाएको छ। यस्तै, अभियान अवधिभर उबर प्लेटफर्ममार्फत सम्पन्न हुने प्रत्येक उबर बाइक यात्राबापत १० रुपैयाँ र उबर क्याब यात्राबापत २० रुपैयाँ कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने जनाएको छ। उक्त रकम यात्रु वा चालकबाट कट्टा नगरिने कम्पनीले स्पष्ट पारेको छ।

यात्रुले नियमित भाडा नै तिर्नुपर्नेछ भने चालकले पनि साविकअनुसारकै रकम प्राप्त गर्नेछन्। योग्य रूपमा सम्पन्न प्रत्येक यात्राबापतको सहयोग रकम उबरले आफ्नै तर्फबाट थप गर्ने जनाएको छ। नेपालका लागि उबरको रणनीतिक साझेदार ट्याक्सीमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्का समयमा यात्रु र चालकको सहभागिताले राहतका लागि थप योगदान जुटाउन सहयोग पुग्ने बताए। दैनिक यात्रालाई बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको भन्दै उनले धेरैभन्दा धेरै यात्रु तथा चालकलाई सहभागी हुन आग्रह गरे।

त्यस्तै, उबर इन्डिया तथा दक्षिण एसियाका अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहले नेपालमा राहत तथा पुनर्स्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताइन्। उबरले आफूले सेवा प्रदान गर्ने समुदायप्रतिको जिम्मेवारी मोबिलिटी सेवामा मात्र सीमित नरहेको उल्लेख गर्दै नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा राहत तथा पुनर्स्थापनामा योगदान गर्ने जनाएको छ। अभियानअन्तर्गत यात्रुले उबर एपमार्फत नियमित रूपमा राइड बुक गर्न सक्नेछन् भने चालकले उबर ड्राइभर एपमा अनलाइन भई राइड स्वीकार गरेर यात्रा पूरा गर्नुपर्नेछ। योग्य रूपमा सम्पन्न हुने प्रत्येक यात्रासँगै उबरको राहत योगदान बढ्दै जाने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अभियानको मूल सन्देश ‘जति धेरै राइड, त्यति धेरै सहयोग’ रहेको छ। ‘हरेक यात्रा, पुनर्निर्माणमा एउटा योगदान’ भन्ने उद्देश्यसहित सञ्चालन हुने अभियानले बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्