बाढी प्रभावित रसुवा र नुवाकोटमा सङ्क्रामक रोग रोक्न विशेष निगरानी

काठमाडौँ – सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित सङ्क्रामक रोगको जोखिम न्यूनीकरण गर्न विशेष निगरानी र प्रतिकार्यका गतिविधि तीव्र पारेको छ। स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सहसचिव हेमन्तचन्द्र ओझाका अनुसार मन्त्रालयको स्वास्थ्य सङ्कटकाल तथा विपद् व्यवस्थापन एकाइ र स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा सङ्क्रामक रोग नियन्त्रण तथा स्वास्थ्य प्रतिकार्यको नेतृत्व गरिरहेका छन्। बाढीपछि सरुवा रोग फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना स्वीकृत गरी प्रदेश तथा जिल्ला तहका स्वास्थ्य अधिकारीलाई आवश्यक अभिमुखीकरणसमेत दिइएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार विपद्को दोस्रो दिनमै चिकित्सकको कमाण्डमा विशेष स्वास्थ्य टोली रसुवा र नुवाकोटमा परिचालन गरिएको थियो। सङ्क्रामक रोगको निगरानी र नियन्त्रणलाई थप प्रभावकारी बनाउन निगरानी प्रमुखको नेतृत्वमा फिल्ड इपिडेमियोलोजी ट्रेनिङ प्रोग्रामबाट प्रशिक्षित दुई–दुई जना जनशक्ति सम्मिलित विशेष टोली दुवै जिल्लामा खटाइएको छ। त्यस्तै, विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा थप दुई जना मेडिकल निगरानी अधिकारी परिचालन गरिएको छ। युनिसेफसँगको सहकार्यमा प्रभावित क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्थाको समीक्षा गरी सम्भावित स्वास्थ्य जोखिम रोकथामका आवश्यक गतिविधि अघि बढाइएको मन्त्रालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा ज्वरो तथा झाडापखालाजन्य रोगको नियमित र कडा निगरानीका लागि ‘निगरानी, प्रकोप प्रतिकार्य व्यवस्थापन तथा विश्लेषण प्रणाली–सोरमास’ सञ्चालनमा ल्याइएको छ। साथै, र्‍यापिड रेस्पोन्स कमिटीको बैठक बसेर प्रभावित क्षेत्रको स्वास्थ्य अवस्थाबारे निरन्तर मूल्याङ्कन भइरहेको सहसचिव ओझाले बताउनुभयो। सङ्क्रामक रोग नियन्त्रणसँगै प्रभावित नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन १०२ वटा एम्बुलेन्स परिचालन गरिएको मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्शका लागि ३० जना स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्रमा खटाइएको छ। यसैबीच, नेपाली सेनाले प्रभावित क्षेत्रमा माइकिङमार्फत स्वास्थ्य सतर्कता अपनाउन तथा सम्भावित सङ्क्रामक रोगबाट जोगिन स्थानीयवासीलाई सचेत गराइरहेको छ। राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पनि स्वास्थ्य सुरक्षासम्बन्धी जनचेतनामूलक सूचना प्रवाह गरिरहेको मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्