काठमाडौं -राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) काठमाडौं महानगर समितिको तेस्रो अधिवेशनले नवराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा टंक गैह्रै, सचिवमा सुनिल केसी र कोषाध्यक्षमा रनिश भट्टराई चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा प्रकाश श्रेष्ठ, मनिस श्रेष्ठ र चपला ढकाल चयन भएका छन्।
नेशनल प्याब्सन काठमाडौंका उपाध्यक्ष प्रेमकुमार भुजेलका अनुसार अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।
अधिवेशनमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने, केन्द्रीय उपाध्यक्ष विष्णु पराजुली लगायत केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित समितिले काठमाडौं महानगर क्षेत्रभित्रका संस्थागत विद्यालयका साझा समस्या समाधान, शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालयको हकहित संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्वले विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी तथा सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय कायम गर्दै संस्थागत शिक्षा क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने जनाएको छ। साथै, संस्थागत विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।



