काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण आएको बताउनुभएको छ। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण तापक्रम १.८ डिग्री सेल्सियससम्म वृद्धि भइसकेको पुष्टि भएकाले त्यसकै प्रभावस्वरूप विपत्ति आएकोमा शङ्का नरहेको बताउनुभएको हो। उहाँले जलवायु परिवर्तन विश्वव्यापी योगदानको विषय भएकाले त्यसबाट उत्पन्न विपत्तिको प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हुनुपर्ने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी बाढीले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै बढ्दै गएको जोखिमको गम्भीर सङ्केत गरेको बताउनुभएको छ। विज्ञहरूसँगको छलफलका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँचट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्तिमध्ये एक हुनसक्ने जानकारी आएको उहाँले उल्लेख गर्नुभएको छ।
उहाँले हिउँचट्टान किन खस्यो र यति ठूलो परिमाणमा पानी कसरी आयो भन्ने प्रश्नको वैज्ञानिक जवाफ खोज्नुपर्ने बताउनुभएको छ। हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका विपद्का विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा प्रस्तुत गर्ने समय आएको उहाँको भनाइ छ। rप्रधानमन्त्री शाहका अनुसार हिमनदीभित्र पग्लिएको पानीका कारण हिमनदीको कुनै भाग खस्दा त्यसमा बरफ र पानी दुवै मिसिएको हुनसक्छ। विज्ञहरूको प्रारम्भिक विश्लेषण उद्धृत गर्दै उहाँले हिमनदीको एउटा ठूलो भाग उच्च उचाइबाट ठूलो ऊर्जासहित खसेको र खसेकै स्थानमा पग्लिन सुरु भएर निरन्तर पग्लिँदै ठूलो बाढीको रूप लिएको हुनसक्ने बताउनुभएको छ। हिमालयबाट नेपालतर्फको भू–भाग क्रमशः ओरालो भएकाले बाढीले थप ऊर्जा र पानी संकलन गर्दै ठूलो क्षति पुर्याएको उहाँको भनाइ छ।
विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहत वितरणको चरण पार गर्दै पुनःस्थापनातर्फ अघि बढिरहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ। प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य उपचार तथा मनोपरामर्शमा समेत सरकारले ध्यान दिइरहेको उहाँले उल्लेख गर्नुभएको छ। प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरण भइरहेको र नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा दुई हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गरिरहेको उहाँले जानकारी दिनुभएको छ। रसुवाका प्रभावितलाई समेत नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ।
प्रधानमन्त्री शाहले विपद्पछि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट नेपाललाई सहयोग प्राप्त हुने क्रम जारी रहेको बताउनुभएको छ। भारतले बाढी आएको दिनदेखि नै सहयोग सुरु गरेको र हालसम्म ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको उहाँले जानकारी दिनुभएको छ। उद्धारका लागि भारतको ११ सदस्यीय टोली नेपाल आइसकेको तथा २२ फिटको रेफ्रिजेरेटेड कन्टेनर ट्रकसमेत अस्थायी रूपमा उपलब्ध गराउने तयारी रहेको उहाँले बताउनुभएको छ।
पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ भने श्रीलङ्काले १० लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बङ्गलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। चीनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गरिसकेको छ। चीनबाट आएको उद्धार टोली प्रभावित क्षेत्रमा परिचालित रहेको र ५० टन राहत सामग्रीसमेत उपलब्ध गराइएको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ। प्रभावित क्षेत्रका लागि नेपाल सरकारले चीनसँग ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ।
अमेरिकाबाट पाँच लाख अमेरिकी डलर तथा अष्ट्रेलियाबाट एक मिलियन अमेरिकी डलर नगद सहयोगको प्रतिबद्धता आएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) ले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको र थप १० मिलियन डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
कतारले पनि राहत सामग्री उपलब्ध गराएको छ। स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसङ्घमार्फत खर्च हुने गरी एक मिलियन स्विस फ्र्याङ्क प्राप्त भएको छ। त्यस्तै, एसियाली विकास बैंक (एडीबी) बाट बजेटरी सहयोगका लागि पाँच मिलियन अमेरिकी डलर अनुदान, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा तथा एडीबीबाट प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ।
यसैगरी, बेलायत, जापानलगायत मित्रराष्ट्रबाट समेत सहयोगको प्रतिबद्धता आएको तथा युरोपेली सङ्घ (ईयू) र संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायबाट पनि प्रभावित क्षेत्रमा सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।



