काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्नेछ। बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसबाट भएको जनधनको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रस्तावमार्फत भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति प्रतिनिधिसभाले गहिरो दुःख व्यक्त गर्नेछ।
विशेष प्रस्तावमा रसुवाको टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन तथा गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा बाढीका कारण ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै धेरैको मृत्यु भएको र व्यापक जनधनको क्षति पुगेको उल्लेख गरिएको छ।
प्रतिनिधिसभाले बाढीका कारण घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नेछ। साथै, विपद्मा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने प्रस्तावमा उल्लेख छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो क्षति पुगेको छ। बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धार, शव व्यवस्थापन, राहत वितरण र प्रभावितको पुनःस्थापनाको काम जारी रहेको छ।



