काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा ‘अन-द-फ्लाई’ ईएमआई (किस्ताबन्दी) सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। डिजिटल भुक्तानी प्रवर्द्धन र आधुनिक वित्तीय सेवा विस्तार गर्ने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहकार्य सुरु गरिएको हो।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका सबै स्टोरबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा कुनै अतिरिक्त कागजी प्रक्रिया बिना तत्काल किस्ताबन्दी सुविधा प्राप्त गर्नेछन्। ग्राहकले आफ्नो आवश्यकता अनुसार ३, ६, ९, १२ वा १८ महिनासम्मको किस्ता अवधि छनोट गर्न सक्नेछन्। यस योजनामा कुनै ब्याज वा प्रोसेसिङ शुल्क नलाग्ने बैंकले जनाएको छ।
विशेषगरी इलेक्ट्रोनिक्स तथा उच्च मूल्यका सामग्री खरिद गर्ने ग्राहकलाई तत्काल आर्थिक भार कम गर्दै सहज रूपमा भुक्तानी गर्ने अवसर मिल्ने विश्वास गरिएको छ।
यसै सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकका लागि विशेष ‘ग्लोबल बीबीएसएम क्लब क्रेडिट कार्ड’ पनि जारी गरिने भएको छ। ग्राहकको आर्थिक वर्ष तथा पछिल्ला तीन महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड उपलब्ध गराइनेछ। प्रारम्भिक चरणमा उक्त कार्ड भाटभटेनी तथा यसको नेटवर्कभित्र मात्रै प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकका अनुसार उक्त कार्डमार्फत ग्राहकले सहज भुक्तानी, विशेष छुट, अफर, रिवार्ड तथा भविष्यमा सञ्चालन हुने विभिन्न ग्राहकमुखी योजनाको लाभ लिन सक्नेछन्। साथै आगामी दिनमा दुवै संस्थाले संयुक्त रूपमा क्यासब्याक, विशेष छुट तथा ग्राहक केन्द्रित थप योजनाहरू सञ्चालन गर्ने तयारी गरेका छन्। यस परियोजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारका रूपमा सहकार्य गरेको छ।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधिमार्फत ग्राहकलाई सहज र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। हाल बैंकले देशभर ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। साथै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत विभिन्न मुलुकबाट औपचारिक रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ।



