एनआईसी एशिया क्यापिटलको नयाँ योजना: निःशुल्क डिम्याटदेखि आजीवन मेरो सेयर नवीकरणसम्म

काठमाडौं – एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ का लागि लगानीकर्तामैत्री विभिन्न योजना सार्वजनिक गरेको छ। ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै क्यापिटलले निःशुल्क डिम्याट र मेरो सेयर सेवा, विद्यार्थी विशेष योजना तथा आजीवन डिम्याट–मेरो सेयर नवीकरण सुविधा सञ्चालनमा ल्याएको जनाएको छ।

क्यापिटलका अनुसार ग्राहकलाई सहज, छिटो र डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले निक्षेप सदस्यअन्तर्गतका अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराइएको छ। साथै, एनआईसी एशिया बैंकका सबै शाखाबाट पनि डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने लगायतका सेवा लिन सकिने व्यवस्था गरिएको छ।

नयाँ योजनाअन्तर्गत क्यापिटलबाट डिम्याट खाता खोल्ने ग्राहकले निःशुल्क डिम्याट खाता तथा पहिलो वर्षको नवीकरण शुल्कमा पूर्ण छुट पाउनेछन्। विद्यार्थीलाई लक्षित विशेष योजनाअन्तर्गत निःशुल्क डिम्याट खाता, पहिलो वर्षको नवीकरण शुल्क छुट तथा निःशुल्क मेरो सेयर दर्ता सुविधा उपलब्ध गराइएको छ।

त्यसैगरी, सीमित अवधिका लागि ल्याइएको आजीवन डिम्याट तथा मेरो सेयर नवीकरण योजना अन्तर्गत एकमुष्ट रु. ९९९ तिरेर डिम्याट खाता र रु. १,००० तिरेर मेरो सेयर खाताको आजीवन नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। यो सुविधा २०८३ साल साउन मसान्तसम्म लागू रहने क्यापिटलले जनाएको छ।

यसका साथै, एनआईसी एशिया बैंकका तोकिएका बचत खातासँग लिंक गरी डिम्याट खाता खोल्ने ग्राहकलाई निःशुल्क डिम्याट तथा मेरो सेयर खाता र पहिलो वर्षको नवीकरण शुल्कमा छुट प्रदान गरिने क्यापिटलले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्