काठमाडौं – दार्चुलाको गोकुलेश्वर-झरकाँडा-बोन्तोली-पनेबाँज सडकखण्ड निर्माणका क्रममा आवश्यक प्राविधिक मापदण्ड पालना नगरिएको आरोप लगाउँदै स्थानीयवासी आक्रोशित बनेका छन्। निर्माण कम्पनी KS Construction र शैल्यशिखर नगरपालिकाका सम्बन्धित जनप्रतिनिधिले समस्या समाधानतर्फ कुनै प्रभावकारी पहल नगरेको भन्दै उनीहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
स्थानीयवासीका अनुसार सडक निर्माणका क्रममा जोखिमयुक्त क्षेत्रमा आवश्यक संरक्षणका उपाय नअपनाइएकाले वर्षायामसँगै पहिरोको खतरा दिनप्रतिदिन बढ्दै गएको छ। जसका कारण सडक आसपासका बस्ती, यात्रु र सवारीसाधन समेत उच्च जोखिममा परेका छन्। विगत केहि समयदेिख यहि समस्यामा शैल्यशिखर नगरपालिका वडा नम्बर ७ बिरालीपोखरीका स्थानीय परेका छन् ।
स्थानीय कोमल जोशीले निर्माण कम्पनी र नगरपालिकाले समयमै आवश्यक समन्वय, प्राविधिक मूल्याङ्कन तथा जोखिम न्यूनीकरणका उपाय अवलम्बन नगर्दा अवस्था झन् जटिल बन्दै गएको आरोप लगाउनुभयो। उहाँका अनुसार समस्या समाधानका लागि पटकपटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको छ। जोखिमयुक्त ठाउँमा सडक बनाएको र वाल समेत नदिदा जोखिम बढेको हो । केहि समय अगाडी पहिरो खसेपछि उक्त ठाउँमा पन्छाउन खोज्दा स्थानीयहरुले झन पहिरो खस्ने भन्दै पन्छाउन अवरोध गरेका थिए तर राती आएर डोजर लगाएर सडक पन्छाएको र अझ पहिरोको उच्च जोखिम रहको स्थानीय कोमल जोशीको भनाई छ । यस बिषयमा नगरपालिकामा मेयरलाई समेत सम्पर्क गरेको तथा वडा कार्यालयमा वडा अध्यक्ष पुष्पराज जोशीलाई सम्पर्कगर्दा पनि वेवास्ता गरेकोले छिट्टै वाल दिन चासो नदिए कडा संघर्षमा उत्रिने स्थानीयहरुको भनाई छ ।
स्थानीयले तत्काल स्थलगत निरीक्षण गरी जोखिमयुक्त क्षेत्रमा पर्खाल निर्माण, प्रभावकारी पानी निकासको व्यवस्था तथा पहिरो नियन्त्रणका अन्य संरचना निर्माण गर्न माग गरेका छन्। समयमै आवश्यक कदम नचालिए सडक पूर्ण रूपमा अवरुद्ध हुनुका साथै आसपासका बस्तीमा ठूलो जनधनको क्षति हुन सक्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।



