काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक व्यवस्थापन तथा जनचेतना अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।
आज नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएका विभिन्न समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको हो।
भेटका क्रममा प्रमुख काफ्लेले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नाडा र ट्राफिक प्रहरीबीच दीर्घकालीन तथा सिर्जनात्मक सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापनका लागि पहल गर्न नाडालाई आग्रह गर्नुभयो।
उहाँले सवारीसाधन खरिद गर्ने ग्राहक, सर्भिस सेन्टरका सेवाग्राही तथा पहिलो पटक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने व्यक्तिहरूलाई ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टाको आधारभूत प्रशिक्षण दिने व्यवस्था गर्न सके ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नाडाका अध्यक्ष उप्रेतीले ट्राफिक प्रहरीसँग विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नाडाको ५०औँ वार्षिक साधारणसभा तथा स्वर्ण जयन्तीका अवसरमा आगामी असार १३ देखि १९ गतेसम्म राजधानीमा सप्ताहव्यापी विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिँदै कार्यक्रम सफल बनाउन ट्राफिक प्रहरीको सहयोग आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष उप्रेतीले ट्राफिक सचेतना अभिवृद्धिका लागि स्टिकरमार्फत जनचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी पनि दिनुभयो।
छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले ट्राफिक प्रहरीसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल तथा कोषाध्यक्ष पंकज अग्रवाललगायतले पनि आ–आफ्ना धारणा राखेका थिए।





