देश प्रदेश पोडकास्ट दोस्रो सिजनमा प्रवेश, राष्ट्रिय मिडिया प्लेटफर्मका रूपमा विस्तार हुने

काठमाडौं – डिजिटल संवादको प्रभावकारी माध्यमका रूपमा परिचित ‘देश प्रदेश पोडकास्ट’ले आफ्नो दोस्रो सिजनको औपचारिक घोषणा गर्दै राष्ट्रियस्तरको बहुआयामिक मिडिया प्लेटफर्मका रूपमा विस्तार हुने योजना सार्वजनिक गरेको छ। उद्यमी तथा सञ्चारकर्मी सरिता ज्ञवालीद्वारा सञ्चालित पोडकास्टले पहिलो सिजनका १२ सफल एपिसोड सम्पन्न गरेपछि अब आफ्नो गतिविधिलाई केवल डिजिटल श्रव्य–दृश्य सामग्रीमा सीमित नराखी टेलिभिजन, पत्रपत्रिका, म्यागजिन तथा विभिन्न डिजिटल माध्यमसम्म विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ।

समाज, राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, सञ्चार, नेतृत्व, विकास, नवप्रवर्तन तथा समसामयिक विषयमा केन्द्रित संवादमार्फत छोटो समयमै दर्शक तथा स्रोतामाझ विशिष्ट पहिचान बनाउन सफल भएको पोडकास्टले दोस्रो सिजनमा अझ व्यापक पहुँच र प्रभाव विस्तार गर्ने लक्ष्य लिएको छ। आयोजकका अनुसार अब कार्यक्रमका सामग्री राष्ट्रिय टेलिभिजन  ग्लोबल टेलिभिजन मार्फत प्रसारण गरिनेछ भने राष्ट्रिय दैनिक पत्रिका प्रक्षेपण, व्यावसायिक तथा आर्थिक म्यागजिन र विभिन्न डिजिटल प्लेटफर्ममार्फत समेत प्रकाशन तथा प्रसारण गरिनेछ। यसले देश प्रदेश पोडकास्टलाई परम्परागत पोडकास्टको सीमाभन्दा माथि उठाएर राष्ट्रियस्तरको सञ्चार तथा विचार मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

दोस्रो सिजनमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रविधि, आर्थिक विकास, महिला नेतृत्व, युवा उद्यमशीलता तथा सामाजिक रूपान्तरणजस्ता विषयमा विशेष शृंखला सञ्चालन गरिने तयारी गरिएको छ। दोस्रो सिजनको शुभारम्भका अवसरमा आयोजित ‘देश प्रदेश पोडकास्ट सिजन-२ शुभारम्भ तथा मिडिया पार्टनरशिप साँझ’ कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, उद्यमी, साझेदार संस्था तथा सरोकारवालाको सहभागिता रहने जनाइएको छ। कार्यक्रममा पहिलो सिजनको समीक्षा, उपलब्धिहरूको प्रस्तुति, सहयात्री तथा प्रायोजकहरूको सम्मान, नयाँ रणनीतिक साझेदारी घोषणा तथा सम्झौता हस्ताक्षर कार्यक्रमसमेत आयोजना गरिनेछ।

आयोजक सरिता ज्ञवालीले देश प्रदेश पोडकास्टलाई केवल एउटा कार्यक्रम नभई विचार, अनुभव र सम्भावनालाई जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले पहिलो सिजनमा प्राप्त साथ, विश्वास र उत्साहले अझ व्यापक सोचका साथ अगाडि बढ्न प्रेरित गरेको उल्लेख गर्दै दोस्रो सिजनमार्फत राष्ट्र, समाज र भविष्यसँग सम्बन्धित विषयहरूलाई थप गहिराइ र प्रभावका साथ प्रस्तुत गरिने बताउनुभयो।

देश प्रदेश पोडकास्टले नेतृत्व, उद्यमशीलता, समाज, अर्थतन्त्र, विकास, नीति निर्माण तथा समसामयिक विषयमा अर्थपूर्ण संवादमार्फत जनचेतना अभिवृद्धि र सकारात्मक बहसको वातावरण निर्माण गर्ने उद्देश्यका साथ आफ्नो यात्रा अगाडि बढाउँदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्