काठमाडौं – नेपाली किसानहरूले उत्पादन गरेको मौलिक महलाई नेपालमै प्रशोधन गरी उच्च गुणस्तरको अर्गानिक उत्पादनका रूपमा बजारमा ल्याउन थालेपछि यसको आकर्षण उल्लेख्य रूपमा बढ्न थालेको छ ।
‘महक मह’ नामक ब्रान्डमार्फत चितवन, नुवाकोट, भक्तपुर, पर्वत, ताप्लेजुङ र खोटाङ लगायतका मध्यपहाडी क्षेत्रका किसानबाट सङ्कलन गरिएको महलाई भक्तपुरमा आधुनिक प्रविधिबाट प्रशोधन गरी बजारमा उपलब्ध गराइँदै आएको छ । स्थानीय मौरीपालकलाई सघाउँदै उत्पादन गरिएको मह १०० प्रतिशत शुद्ध, अर्गानिक तथा स्थानीय स्रोतमा आधारित रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मह उत्पादन प्रक्रियामा मौरीको हेरचाहदेखि लिएर मह सङ्कलन, भण्डारण, प्रशोधन र प्याकेजिङसम्मका सबै चरणमा गुणस्तरमा विशेष ध्यान दिइएको छ । महलाई ३५-४० डिग्री सेल्सियस तापक्रममा हल्का तताई अशुद्धी हटाइने तथा आवश्यक मापदण्डअनुसार प्याकेजिङ गरिने व्यवस्था रहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रमाणित र अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुसार उत्पादन गरिएकाले यो मह सुरक्षित र गुणस्तरीय रहेको दाबी गरिएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्वदेशमै प्रशोधन गरी बजारमा ल्याइँदा किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि शुद्ध तथा स्वास्थ्यवर्द्धक मह उपभोग गर्न पाउने अवस्था सिर्जना भएको छ ।

अहिले ‘महक महा’ ब्रान्डको मह आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार भइरहेको छ । प्राकृतिक स्वाद, स्वास्थ्य लाभ र स्थानीय पहिचानका कारण नेपाली अर्गानिक महप्रति उपभोक्ताको आकर्षण दिनानुदिन बढ्दै गएको सञ्चालक गोपाल धमालाले बताउनुभयो ।
कम्पनीले उत्पादनदेखि प्याकेजिङसम्म अन्तर्राष्ट्रिय मापदण्ड अपनाउँदै गुणस्तरमा कुनै सम्झौता नगरेको बताइएको छ। यस्तो पहलले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै आयात प्रतिस्थापनमा समेत टेवा पुर्याउने देखिन्छ। त्यसैले यस्ता स्थानीय उद्यमलाई प्रोत्साहन, नीति-सहयोग र बजार विस्तारका अवसर उपलब्ध गराउनु आजको आवश्यकता बनेको छ, जसबाट नेपाली कृषि उत्पादनले अन्तर्राष्ट्रिय पहिचानसमेत पाउने अपेक्षा गरिएको छ।









