असन क्षेत्रमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेशमा रोक

FILE PHOTO

काठमाडौँ – काठमाडौंको ऐतिहासिक तथा व्यापारिक केन्द्र असन क्षेत्रको मौलिकता जोगाउने उद्देश्यले आज वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाले ‘भेहिकल फ्रि असन’ कार्यक्रम लागू गर्दै सांस्कृतिक, सामाजिक र परम्परागत गतिविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ ।

शनिबारका दिन असन क्षेत्रमा सवारी आवागमन पूर्णरूपमा निषेध गरिनेछ भने त्यस अवधिमा स्थानीय कला, संस्कृति र परम्परागत जीवनशैली झल्काउने विविध कार्यक्रम सञ्चालन गरिने छन् । गायन, वादन, नृत्य, रैथाने सीप तथा ज्ञानको प्रदर्शनमार्फत असनलाई जीवित सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने योजना महानगरको छ ।

यस कार्यक्रमअन्तर्गत कमलाक्षी चोकदेखि असन, भोटाहिटीदेखि असन तथा महाबौद्ध क्षेत्रबाट असन प्रवेश गर्ने मुख्य मार्गहरूमा सवारी आवागमन बन्द गरिनेछ । साथै इन्द्रचोक, मच्छिन्द्रबहाल, मांस गल्ली लगायतका भित्री मार्गहरूमा समेत मोटरसाइकलसहित सबै सवारी साधन प्रवेशमा रोक लगाइनेछ । सवारी साधन प्रयोगकर्ताले वैकल्पिक मार्ग अपनाउनुपर्नेछ भने असन आउनेहरूले धरहरा, जमल बहाल, दरबार हाइस्कुल लगायत तोकिएका स्थानमा पार्किङ गरी पैदल हिँड्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्यक्रमको व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ । महानगरका अनुसार असन क्षेत्रका मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, परम्परागत व्यापार र सांस्कृतिक अभ्यासको प्रवर्द्धन तथा नयाँ पुस्तामा सांस्कृतिक हस्तान्तरण गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो । सहरी क्षेत्रमा बढ्दो सवारी चापले ऐतिहासिक पहिचानमा असर पारेपछि महानगरले यस्तो पहल थालेको हो । ‘भेहिकल फ्रि असन’ कार्यक्रमले काठमाडौंको मौलिक संस्कृति संरक्षणसँगै पर्यटकीय आकर्षणसमेत बढाउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्