शुक्रबार सुन–चाँदीको मूल्य घट्यो, विलासिता कर साउन १ पछि मात्रै लागू हुने

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रति तोला ८०० रुपैयाँले घटेको हो। शुक्रबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य २ हजार १५० रुपैयाँमा झरेको छ। बिहीबार चाँदीको मूल्य २ हजार २०० रुपैयाँ थियो भने सुनको मूल्य १ लाख ९५ हजार ५०० रुपैयाँ थियो।

यसैबीच महासंघले सुनमा लाग्ने विलासिता कर साउन १ गतेदेखि मात्रै लागू हुने जानकारी दिएको छ। असार ५ गते आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरूसँगको परामर्शपछि सो कर हालका लागि नलाग्ने निश्चित भएको हो। महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “साउन १ गतेअघि विलासिता कर लागू नहुने स्पष्ट जानकारी प्राप्त भएको छ।” साथै, उत्पन्न समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग निरन्तर वार्ता र कूटनीतिक पहल जारी रहेको पनि महासंघले जनाएको छ।

महासंघले लामो समयदेखि विलासिता कर खारेजीको माग गर्दै आएको छ। व्यवसायीहरू भन्छन् – यस्तो करले आयातमा असर पार्ने र उपभोक्ता मूल्य थप महँगिने जोखिम रहन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्