काठमाडौं – स्कटल्याण्डको ग्लासग्लोमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुने कार्यक्रम छ।
शृंखलामा हालसम्म नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २ खेलमा जित हात पारेको छ भने आयोजक स्कटल्याण्डले १ खेल मात्र जितेको छ। पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको स्कटल्याण्ड त्यसपछि नेपाल र नेदरल्याण्ड्ससँग पराजित भएको थियो।
नेपालले भने ठीक विपरित यात्रा तय गरेको छ। पहिलो खेलमा सुपर ओभरमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपालले त्यसपछि स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई पराजित गर्दै २ लगातार जित निकालेको छ।
नेपाल र स्कटल्याण्डबीच टी–२० फर्म्याटमा अहिलेसम्म २ पटक प्रतिस्पर्धा भएको छ, जसमा दुबै टिमले १–१ खेल जितेका छन्। टी–२०आई अन्तर्गत मंगलबार भएको खेल भने दुबैको पहिलो भिडन्त थियो, जहाँ नेपाल विजयी भएको थियो।
यसअघि लिग–२ को एकदिवसीय शृंखलामा पनि नेपालले स्कटल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ४ मध्ये ३ खेलमा जित निकालेको थियो।
अब आजको खेलमा पनि नेपाल शृंखला विजयी रूपमा टुंग्याउने लक्ष्यमा हुनेछ। नेपाली टिमको पछिल्ला प्रदर्शन र लयले समर्थकहरूमा उत्साह थपिएको छ।