जहाँ जाँऊ लागिरहन्छ माया देशको… सात पुस्तापछि नेपाल फर्किएकी अस्मिता न्यौपानेको भावुक भेट

काठमाडाैँ – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो। सात पुस्तापछि पहिलो पटक नेपाल आएकी हुँ। म आफूलाई निकै भाग्यशाली ठान्छु।” यसरी बोल्दै गर्दा म्यानमारबाट नेपाल आइपुगेकी अस्मिता न्यौपाने भावुक भइन्। उनी न केवल आफूले पुर्खाको माटो चुम्न पाएकोमा अभिभूत थिइन्, तर साथमा नेपाल प्रतिको प्रेम र आत्मीयताको भाव पनि गुञ्जायमान बनाइन्।

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ को सहभागिताले अस्मिताजस्ता प्रतिभालाई नेपाल ल्याउने माध्यम बनेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा अस्मिता लगायत विभिन्न मुलुकबाट आएका प्रतिभाहरुले आफ्नो भावना पोख्दै गीतमार्फत नेपालीपनको झल्को समेत प्रस्तुत गरे।

कार्यक्रममा उपस्थित सहभागीहरुले “भाषा, भेषको; जहाँ जाँऊ लागिरहन्छ माया देशको…” बोलको राष्ट्रिय भावना ओतप्रोत गीत सामूहिक रुपमा गाएर सबैको मन छोए।

मन्त्री गुरुङले कार्यक्रममा बोल्दै नेपालमा सुगौली सन्धीपछिका अवस्थाहरू, दुईवटा विश्वयुद्धको प्रभाव र पछिल्लो विश्वव्यापीकरणका कारण नेपालीहरू संसारभरि छरिएका भए पनि संस्कृति, भाषा र भेषभूषाले सबैलाई एकतामा बाँध्ने कार्य निरन्तर भइरहेको उल्लेख गर्नुभयो। “हामी जहाँ गए पनि नेपाली कला र संस्कृतिको पहिचान भुल्नु हुँदैन,” उहाँले भन्नुभयो, “यसका लागि ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ जस्ता कार्यक्रमले सशक्त योगदान पुर्‍याइरहेका छन्।”

 

नेपालको माटोमा विदेश बसेका नेपालीहरुको साङ्गीतिक समर्पण

इन्ट्रा फाउन्डेसनद्वारा तीन वर्षअघि सुरु गरिएको यी दुई रियालिटी शो हाल नेपाल टेलिभिजनबाट साप्ताहिक रूपमा प्रशारण भइरहेको छ।
‘मेरो भ्वाइस युनिभर्स’ बिहिबार र शुक्रबार साँझ तथा ‘मेरो डान्स युनिभर्स’ आइतबार र सोमबार साँझ प्रशारण गरिँदै आएको छ।

कार्यक्रमका कार्यकारी निर्देशक चुडामणि भट्टराईका अनुसार छरिएर रहेका नेपाली मूलका नागरिकलाई गायन र नृत्यमार्फत एउटै मञ्चमा ल्याई मौलिक कला–संस्कृतिको विश्वव्यापी प्रवद्र्धन गर्नु शोको प्रमुख उद्देश्य हो।
“हामी जुनसुकै भूगोलमा भए पनि हामीभित्रको नेपालीपन अझै बाँकी छ,” कार्यकारी निर्देशक भट्टराईले भने, “त्यही भावना बोकेर आज हामी विश्वभरिका नेपालीहरू एउटै प्लाटफर्ममा उभिएका छौँ।”

हालसम्म ६० देशबाट सहभागी भएका प्रतिभामध्ये १६ देशका प्रतिस्पर्धीहरू उत्कृष्ट १८ को सूचीमा प्रवेश गरिसकेका छन्।
फाउन्डेसनका अध्यक्ष डिल्लीराम अधिकारीको परिकल्पनामा आधारित दुबै शोले नेपाली समुदायमा सकारात्मक चर्चा बटुल्दै आएको छ।

कला संस्कृतिमार्फत पहिचानको पुनःस्थापना

सञ्चारमन्त्री गुरुङले कार्यक्रममा स्पष्ट रुपमा भन्नुभयो, “सिमाना छुट्टिए पनि भावना छुट्दैनन्। नेपाली संस्कृति, भाषा र परम्पराले हाम्रा पुर्खाका सम्झनाहरू आजका पुस्तामा जोगाइरहेको छ।”

उनका अनुसार, यस्ता रियालिटी शोहरूले नेपालको ‘सफ्ट पावर’ अर्थात् सांस्कृतिक कूटनीति मार्फत विश्व समुदायमा नेपाली परिचयलाई मजबुत बनाउने कार्य गरिरहेका छन्।

पुरस्कार राशीसमेत उल्लेखनीय

दुबै शोमा प्रतिस्पर्धीका लागि आकर्षक पुरस्कार व्यवस्था गरिएको छ।
– प्रथम हुनेले जनही १–१ करोड रुपैयाँ
– दोस्रो हुनेलाई ३०–३० लाख रुपैयाँ
– तेस्रो हुनेलाई १०–१० लाख रुपैयाँ
– उत्कृष्ट १० मा पर्ने सबैलाई जनही ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ।


जुनसुकै भूगोल, जुनसुकै परिवेशमा भए पनि नेपाल र नेपालीपनलाई हृदयमा बोकेर हिँड्ने यो पुस्ताले सांस्कृतिक पहिचान जोगाउन गरेका प्रयास प्रेरणादायी छन्। अस्मिता न्यौपानेको कथामात्र होइन, यो त लाखौं छरिएर रहेका नेपालीहरूको साझा कथा हो—जहाँ जाँऊ लागिरहन्छ माया देशको…

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्