बेलायतमा केहि शर्त सहित लकडाउन खुकुलो पार्ने निर्णय, जर्मनीमा भने लकडाउन खुकुलो पछि विरामी बढे

काठमाडौं – बेलायतले आगामी बुधबारदेखि केही शर्त सहित लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शर्त सहित लकडाउन खोल्ने निर्णय सार्वजनिक गर्दै घरबाट काम गर्न नमिल्ने अवस्था कर्मचारीहरुलाई सार्वजनिक सवारीको प्रयोग नगरी काममा आउन भनेका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारले लागू गरेको पाँच तहको नयाँ कोभिड सचेतना प्रणालीले लकडाउनलाई कसरी खुकुलो बनाउदै लैजाने भन्ने विषयमा दिशा निर्देश गर्ने पनि बताए ।

बेलायतमा अर्को महिनाबाट प्राथमिक तहको विद्यालय खोल्ने तयारी पनि गरिएको छ । होटललगायतका व्यवसाय र सार्वजनिक स्थलहरु खोल्ने सम्वन्धमा भने अवस्था हेरेर अर्को महिना निर्णय गर्ने सरकारको तयारी छ ।

बेलायतमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ३१ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ लाख २० हजारभन्दा बढी छ ।

बेलायतले लकडाउन खुला गर्ने तयारी गरिरहँदा अर्को युरोपेली मुलुक जर्मनीमा भने लकडाउन खुकुलो पारिएपछि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

जर्मनीको सरकारी निकायले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले नै लकडाउन खुकुलो बनाउने बित्तिकै संक्रमितको संख्यामा बढेको देखाएको हो । त्यहाँ हजारौंको संख्यामा मानिसहरु सडकमा उत्रिएर लकडाउन पूर्ण रुपमा हटाउनुपर्ने माग समेत गरेका छन् ।

जर्मनीकी चान्सलर एङ्जेला मर्केलले १६ वटै राज्यसँग परामर्श गरी सकेसम्म लकडाउन खुकुलो बनाउने घोषणा गरेकी छिन् । विद्यालय र सबै प्रकारका पसलहरु खुल्ला गर्न अनुमति दिइएको जर्मनीमाअर्को हप्ताबाट स्थगित फुटबल लिग बुन्डेशलिगा पनि खेलाउन लागिएको छ ।

जर्मनीमा कोरोना संक्रमणका कारण हालसम्म ७ हजार ५ जनाभन्दा बढीको मृत्यु भएको छ भने १ लाख ७१ हजारभन्दा बढी संक्रमित छन् । कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित मुलुकमा संयुक्त राज्य अमेरिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्