शैल्यशिखर ७ र ८ मा भएको खानेपानीको आयोजनाको विवाद के हो ? वास्तविकता के हो ?

काठमाडौँ – दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको सचिवालयले दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ र ८ मा भएको खानेपानीको आयोजनाको टिका टिप्पणीमा ध्यानाकर्षण भएको जनाएको छ । ७ र ८ का विभिन्न बस्तीहरुमा डिपिआरसहित सिफारिस गरि स्वीकृत भएका खानेपानी योजना कटौती गरिएको भन्दै वडाअध्यक्षद्वय पुष्पराज जोशी र केशवदत्त जोशीले विज्ञप्ति निकालेपछि सामाजिक संजालमा टिका टिप्पणी भएको थियो । सोही कुरालाई सचिवालयले गम्भिर रुपमा लिएको छ ।

‘चालु आ.व. ०८१/८२ मा संघीय खानेपानी मन्त्रालयको कार्यक्रम अन्तरगत जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाको सि.नं. २५३ मा समावेश भएको देवल–बन्तोली लिफ्ट खा.पा. योजना शैल्यशिखर नगरपालिका–७ स्किम नं– ५ का सन्दर्भमा सामाजिक संजाल मार्फत विभिन्न टिप्पणीहरु भईरहेको तर्फ यस सचिवालयको ध्यानाकर्षण भएको छ ।’ सचिवालयले भन्यो, ‘उक्त योजना डी.पी.आर. सहित सम्बन्धित वडा अध्यक्षको सिफारिस र निर्णयको माइन्युटको प्रतिलिपी समेत राखी स्थानीय जनताहरुबाट नै माग गरिएको योजना हो। रातो किताबमा प्रकाशित हुँदा स्किम नं–५ छुट भएको भन्ने जानकारी हुन आएपछि सो समावेश गर्न पत्राचार गरिएको हो। कुनै योजना वा स्किम काट्ने र अन्यत्र सार्ने काम भएको होइन भन्ने यथार्थ सम्बद्ध सबैमा स्पष्टताको लागि जानकारी गराइन्छ । योजनाका अन्य स्किमहरू पनि आगामी आ.व.हरूमा क्रमशः प्राथमिकता अनुसार समावेश हुँदै जाने विषय पनि जानकारी गराउँदछौं ।’

पहिलेका आर्थिक वर्षहरुमा सो वडाहरुमा संघ वा प्रदेशबाट बिना डी.पी.आर. र स्किम नतोकेर नै के कति खानेपानी योजनाहरुको समेत खोजीनीति गर्नुपर्ने सचिवालयले भनेको छ । ‘यस सन्दर्भमा बरू यो भन्दा पहिलेका आर्थिक वर्षहरुमा सो वडाहरुमा संघ वा प्रदेशबाट बिना डी.पी.आर. र स्किम नतोकेर नै के कति खानेपानी योजनाहरु क–कस्को सहभागीतामा सम्पन्न भए र के कति उपभोक्ताहरुले खानेपानी सुविधा प्राप्त गरिरहेका छन? विनियोजित बजेट के कति सदुपयोग / दुरुपयोग भएको अवस्था छ ? सो को निगरानी र खोजी समेत हुनु जरुरी देखिन्छ ।’ सचिवायले भनेको छ, ‘त्यसकारण विकासको सन्दर्भमा अस्वस्थ एवं अनावश्यक राजनीति गर्नु भन्दा पनि प्रस्तावित स्किम नं. –५ लगायतका थप स्किम÷योजनाहरुको कार्यान्वयनको क्रममा निर्माणको गुणस्तर कायम राख्न तथा योजनाको लाभ सम्पूर्ण उपभोक्ता/जनताले प्राप्त गर्न सकून भन्ने तर्फ निगरानी राखी सहयोग गर्न समेत सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ ।

विवाद कसरी भयो ?

७ र ८ का विभिन्न बस्तीहरुमा डिपिआरसहित सिफारिस गरि स्वीकृत भएका खानेपानी योजना कटौती गरिएको भन्दै वडाअध्यक्षद्वय पुष्पराज जोशी र केशवदत्त जोशीले विज्ञप्ति निकालेपछि विवाद सुरु भएको हो । उनीहरुले दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूलाई योजना काटेको आरोप लगाउँदै विज्ञप्ति निकालेका छन् । एमालेका कार्यकर्ताहरुले खानेपानीमा बजेट कटौती गरेको भन्दै सांसद बडू लगायत त्यस क्षेत्रका काँग्रेस निकटहरुको चर्को आलोचना गरेका छन् । यता काँग्रेस निकटकाहरुले बजेट कटौती गरेको नभई बजेट कार्यन्वयनको ग्यारेन्टी गरिएको बताउँदै आएका छन् ।

वास्तविकता के हो ?

खानेपानी आयोजनाको विषयमा भएको विवादलाई नजिकबाट बुझ्न हामीले केही अगाडी फर्किनुपर्छ । गत आर्थिक बर्षहरु २०७९/८०, २०८०/०८१ मा देवल–बन्तोली लिफ्टिङ खानेपानी आयोजनामा स्किम नखुलाई बजेट आएको थियो तर त्यो बजेटको सहि कार्यान्वयन हुन सकेन । अझ भन्ने हो भने त्यो बजेटको काम सुरुवात नै नभएको त्यस क्षेत्रका स्थानीयहरुको भनाई छ ।

बजेट जाने र काम नहुने शिलशीला दोहरिएपछि “देवल बन्तोली लिफ्ट खानेपानी आयोजना स्किम नम्बर ५’ भनेर किटेरै बजेट बिनियोजन गरिएको स्थानीय धर्मानन्द जोशीले जानकारी दिए । नाम नै किटान गरेर योजना संचालन भएपछि बजेटको दुरुपयोग नहुने उनको भनाई छ । ‘विगतमा पनि बजेट गएको थियो, त्यो बजेटको कहाँ, कुन ठाउँमा योजना सुरुवात भयो कसैलाई थाहा नै छैन’ जोशीले भने, ‘विगतको जस्तो बजेट जाने र काम नहुने परिपाटी रोक्नको लागि स्थानीय सरकारकै सहमतीमा स्कीम नं. ५ तोक्न लगाएको हो, थप स्कीमहरुको बजेट कटौती भयो भन्ने हल्ला मात्रै हो ।’ खानेपानीमा राजनीति गर्न नहुने उनको तर्क छ । स्कीम नं. ५ सुरुवात हुने ठाउँ पनि वडा नं. ७ कै भएकोले यसमा राजनीति गर्न नै विवाद झिकिएको उनको जिकिर छ ।

‘स्कीम नं. ५ संचालन हुने ठाउँ वडा नं. ७ कै एउटा गाउँ हो, त्यस क्षेत्रमा खानेपानीको चरम अभाव छ, अझ भन्ने हो भने १–२ घण्टा हिडेर पानी बोक्नु पर्ने बाध्यता छ ।’ उनले भने, ‘त्यो ठाउँमा अयोजना बन्नु गलत हो ?’ शैल्यखिखर नगरपालिकाका ७ र ८ वडामा संचालन हुने अन्य स्कीमहरु पनि चालु नै रहने उनले बताए । खानेपानीको लागि राजनीति नगरी सबैले हातेमाले गर्न समेत उनले आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्