काठमाडौं, २० मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र र आन्द्र प्रदेश आसपास रहेको मिचौंङ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती भने कोशी, मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले सबैमा अनुरोध गरेको छ ।