काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । प्रदेश र प्रतिनिधि सभा चुनावपछि पहिलोपल्ट कांग्रेस बैठक बस्न लागेको हो ।
पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेपछि बस्ने बैठकमा ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासहित नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चुनावमा पाँच दलीय गठबन्धन गरेर चुनावमा होमिएको कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिटमा जित हात पारेको छ । समानुपातिकतर्फ ३२ सिट पाएको छ ।
आगामी प्रधानमन्त्रीको उम्मेदवारबारे कांग्रेसभित्रैबाट विभिन्न धारणाहरू सार्वजनिक भइरहेका छन् । यसैगरी, गठबन्धनको साँचो अर्कैतिर जाला भन्ने भय पनि कांग्रेसलाई छ । कार्यसम्पादन समिति बैठकमा गठबन्धन र आगामी सरकारबारे छलफल हुने नेताहरूले बताएका छन् ।