रामदत्त मिश्र, काठमाडौ – काठमाडौंमा जारी छैटौं अर्किड कप अन्तर्गत चार स्कुल सेमिफाइनलका लागि छनोट भएका छन् । सेमिफाइनल खेल भोलि बिहिवार हुनेछ । अर्किड प्युपल स्कुलको आयोजनामा अर्किड खेल मैदानमा जारी अन्तरविद्यालय फुटबल प्रतियोगितामा आज (बुधबार) क्वाटर फाइनल अन्तर्गतका खेल भएका छन् । जसमा पहिलो खेल नेक्सस स्कुल र श्रमशील स्कुलबीच भएको हो । जसमा नेक्सस स्कुल ४-० ले विजयी भएको हो । नेक्ससका किशोर दनुवारले दुई गोल, ड्यानियल सेन र अनिस थापा मगरले एक/एक गोल गरे । यसैगरी म्यान अफ द म्याच श्रमशील स्कुलका विशाल राई भएका छन् ।
बुधबार नै भएको दोस्रो खेलमा केभीएस स्कुलले कस्तुप एकेडेमीलाई २-० ले पराजित गरेको छ । केभिएसका संगित खड्का र सागर चिमरियाले एक/एक गोल गरे । कस्तुप स्कुलका रिदम श्रेष्ठ म्यान अफ द म्याच बने ।
आजै भएको तेस्रो खेल अक्षरिका र कौटिल्य स्कुलबीच भएको हो । खेल बराबरीमा टुंगिएपछि अक्षरिकाले कौटिल्यलाई पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजित गरेको हो । कौटिल्यका अनमोल श्रेष्ठ म्यान अफ द म्याच घोषित भएको अर्किड स्कुलका संयोजक नरेन्द्रप्रसाद पाण्डेले बताउनुभयो । यसैगरी आज भएको अन्तिम खेलमा मनकामना स्कुलले बेष्ट ग्रुप भीजनलाई २-० ले पराजित गरेको छ । जसमा मनकामना स्कुलका सुमन सुनुवारले २ गोल गरेका हुन । बेष्ट ग्रुप भीजन स्कुलका मनिष गिरी म्यान अफ द म्याच घोषित भएको अर्किड स्कुलका प्रिन्सिपल चोलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड प्युपल स्कुलले प्रत्येक बर्ष अर्किड कप आयोजना गर्दै आईरहेको छ । यो बर्ष छैटौं सिजन सुरू भएको हो ।
यश बर्ष प्रतियोगिताको शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने र खेलको फाइनल यहि महिनाको २० गते हुने बिद्यालयका संस्थापक प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।