आज सहिद दिवस, देशकालागि जीवन आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदै

काठमाडाैँ – आज माघ १६ गते अर्थात सहिद दिवस । देश र जनताका लागि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा सहिदहरुको योगदानको उच्च सम्मान गर्दै देशभक्त नागरिकहरुले आज माल्यार्पण समेत गर्ने गर्दछन् ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सहिदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री देउवाले सहिदको बलिदानबाटै नागरिकको शासन स्थापित भएको भन्दै देशमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ‍ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।
सहिद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइन्छ । कोरोना सङ्क्रमण जोखिम र महामारीका कारण यस वर्षको सहिद सप्ताह कार्यक्रम औपचारिकतामा मात्रै सीमित भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्