कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा सहभागी

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमण भएको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । अध्यक्ष ओलीलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो ।

एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका हुन् । युवा संघले भक्तपुर बालकोटस्थित ओलीको निवास नजिकै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

कार्यक्रममा पुगेका ओलीले आफूलाई कोरोना संक्रमण भएको पनि बताएका थिए ।
क्यानडा नेपाल नामक युट्युब च्यानलले अपलोड गरेको भिडियोमा ओलीले ’मलाई त रिपोर्टअनुसार छोयो भन्ने छ’ भनेका छन् । यस्तै ओली कार्यक्रमस्थल पुग्दा कार्यकर्ताहरूले ’भीड नगर्नुस्’ भनेर सहभागीलाई दूरी कायम गरेर बस्न भनिरहेका थिए । भीडबाट ’स्वास्थ्य लाभको कामना छ’ भनेर कार्यकर्ताले भनिरहँदा ओलीले ’थ्यांकु सो मच’ भन्दै जवाफ फर्काइरहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्