काठमाडौँ – नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणनाको तयारी हुने भएको छ । काँग्रेस निर्वाचन समितिका सदस्य जेट रावलले मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणना गर्नेगरी तयारी भइरहेको बताए । उनका अनुसार साढे १ बजेसम्म मतदानको समय तोकिएको छ भने बीचमा कुनै प्राविधिक समस्या नआए सो अवधिमा मतदान सकिनेछ ।
त्यसपछि मतदान भएको ड्रमको व्यवस्थापन, मुचुल्का तयार गर्नेलगायतको प्राविधिक काम सकिएपछि मतगणनाको काम थालिनेछ । यसरी हेर्दा करिब १२ बजेदेखि मतगणना सुरु हुनेछ । उनका अनुसार सभापतिको मतगणना राष्ट्रियसभा गृहमा ४ ठाउँमा ड्रम खन्याएर गनिनेछ ।
रातभरमा गणना सकिसक्ने उनको भनाइ छ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुनेछ भने ती मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ भने ४ ठाउँमा मतगणना गर्दा करिब ६० जना जनशक्ति आवश्यक पर्ने रावलको भनाइ छ ।