महाकाली मोटरेवल पुल: सुदूरपश्चिमको समृद्धि, व्यापार र पर्यटनको नयाँ ढोका

प्रकाशचन्द्र मिश्र –
दार्चुलामा महाकाली नदीमाथि निर्मित नेपाल-भारत जोड्ने मोटरेवल पुलको उद्घाटन सुदूरपश्चिम प्रदेशको विकास यात्रामा एउटा ऐतिहासिक कोसेढुङ्गा हो। सुदूरपश्चिम प्रदेशको सामाजिक, आर्थिक र व्यापारिक इतिहासमा एक युगान्तकारी अध्यायको सुरुवात गरेको छ। लामो समयसम्म झोलुङ्गे पुलको सहारामा दैनिकी गुजार्न बाध्य सीमावर्ती बासिन्दाका लागि आजको दिन केवल एउटा भौतिक संरचनाको लोकार्पण मात्र होइन, यो दशकौंदेखि प्रतीक्षित सहजता, स्वाभिमान र आर्थिक अवसरको नयाँ बिहानी हो। त्रिदेशीय सीमाको सन्निकटमा उभिएको यो पुलले अब सुदूरपश्चिमका पहाडी जिल्लाहरूको उत्पादन, पर्यटन, वाणिज्य र जनजीवनलाई नयाँ गति दिने प्रबल सम्भावना बोकेको छ। तर, पुल बन्नु आफैंमा समृद्धिको ग्यारेन्टी होइन; यसलाई अवसरमा रूपान्तरण गर्ने नीतिगत दूरदृष्टि र व्यावहारिक तयारी नै आजको मुख्य कसी हो।
सुदूरपश्चिमका पहाडी जिल्लाहरू दार्चुला, बैतडी, बझाङ,बाजुरा,डोटी,अछाम र डडेल्धुरा प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि भौगोलिक विकटता र बजारको पहुँच अभावमा पछि परेका हुन्। यहाँका उच्च हिमाली तथा पहाडी भेगमा पाइने यार्सागुम्बा, पाँचऔंले, कुट्की, जटामसी, चिराइतो, टिमुर।र रिठाजस्ता बहुमूल्य जडीबुटीका साथै अर्ग्यानिक सिमी, आलु, स्याउ, ओखर,अदुवा,बेसार, राजमा र महले सहजै सीमापारका ठूला बजार पाउन सक्छन्। मोटरेवल पुल सञ्चालनमा आएसँगै अब यी उपजहरूको ढुवानी सहज र छिटो हुने अपेक्षा गरिएको छ। तर, कच्चा पदार्थ मात्र सस्तोमा बाहिर पठाउने परम्परा रहिरहे स्थानीय स्तरमा मूल्य अभिवृद्धि (भ्यालु एडिसन) हुन सक्दैन। त्यसैले जडीबुटी प्रशोधन केन्द्र, चिस्यान केन्द्र र संकलन सञ्जालको विकाससँगै निर्यातयोग्य गुणस्तर कायम गर्नु अपरिहार्य छ।
पर्यटनका दृष्टिले यो पुलले सुदूरपश्चिमलाई धार्मिक र साहसिक गन्तव्यको नयाँ करिडोरमा जोड्न सक्छ। कैलाश मानसरोवर यात्राको छोटो मार्गका रूपमा दार्चुलाको तिङ्कर र लिपुलेक नाकाको सम्भावना, अपि हिमाल क्षेत्रको पदयात्रा, अपि नाम्पा संरक्षण क्षेत्र, खप्तड र रामारोशनको प्राकृतिक सौन्दर्य तथा मालिकार्जुन, हुनैनाथ,शैलशिखर,बडिमालिका,शैलेश्वरी त्रिपुरासुन्दरी र उग्रताराजस्ता शक्तिपीठहरूको दर्शनका लागि भारतीय पर्यटक भित्र्याउन यो पुल सेतु बन्न सक्छ। तर, पर्यटकलाई आकर्षित गर्न र टिकाउन स्तरीय आवास, सुरक्षित पदमार्ग, सूचना प्रणाली र आतिथ्य पूर्वाधारमा लगानी नबढाई केवल पुलको भर पर्नु अधुरो सोच हुनेछ।
द्विपक्षीय वाणिज्य र आपूर्ति शृङ्खलामा पनि यो पुलले ताजापन ल्याउनेछ। विगतमा धनगढी वा महेन्द्रनगर हुँदै लामो र महँगो पहाडी बाटो धाउनुपर्ने बाध्यता केही हदसम्म कम भई पिथौरागढ हुँदै निर्माण सामग्री, खाद्यान्न र दैनिक उपभोग्य वस्तु भित्र्याउन सहज हुनेछ। यसले पहाडी भेगका विकास निर्माण र चमेलिया, नौगाड तथा महाकाली बेसिनका जलविद्युत आयोजनामा आवश्यक ठूला उपकरण ढुवानीमा समेत सघाउ पुर्‍याउनेछ। साथै, जटिल स्वास्थ्य समस्यामा समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने त्रास घटाउँदै एम्बुलेन्स सेवामार्फत सीमापारका अस्पतालसम्म पुग्ने बाटो खुल्नु मानवीय संवेदनशीलताका हिसाबले अत्यन्त महत्त्वपूर्ण उपलब्धि हो। सदियौंदेखिको ‘रोटीबेटी’ को सम्बन्धलाई अझ व्यवस्थित र सहज बनाउन पनि यसले भूमिका खेल्नेछ।
यद्यपि, पुलको पूर्ण लाभ उठाउन नेपालको आन्तरिक तयारी अझै सुदृढ हुन बाँकी छ। महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) को निर्माणलाई तीव्रता नदिएसम्म पुलबाट भित्रिने वा बाहिरिने यातायातले पहाडी भित्री भूभागलाई पूर्ण रूपमा जोड्न सक्दैन। अर्कोतर्फ, सीमा क्षेत्रमा आधुनिक भन्सार, क्वारेन्टाइन प्रयोगशाला र एकीकृत जाँच चौकीजस्ता संरचनाको अभावमा अनौपचारिक व्यापार बढ्ने र नेपाली कृषि तथा जडीबुटीले निर्यातमा प्राविधिक अवरोध बेहोर्नुपर्ने जोखिम रहन्छ।
दार्चुलाको महाकाली मोटरेवल पुल सुदूरपश्चिमको आर्थिक पुनर्जागरणका लागि प्राप्त एक सुनौलो अवसर हो। राज्यले यसलाई केवल सीमापार आउजाउ गर्ने माध्यममा सीमित नराखी महाकाली करिडोर, भन्सार–क्वारेन्टाइन व्यवस्थापन, स्थानीय उत्पादनको प्रशोधन र पर्यटन पूर्वाधारसँग एकीकृत योजनामा जोड्नुपर्छ। त्यसो हुन सके मात्र यो पुलले सुदूरपश्चिमका पहाडी जिल्लामा रोजगारी, आयआर्जन र आत्मनिर्भरताको ढोका खोल्नेछ र साँचो अर्थमा समृद्धिको पुल बन्नेछ।
लेखकः प्रकाशचन्द्र मिश्र, स्थानीय मौलिक परम्परा, रितिरीवाज, इतिहास, ग्रामीण क्षेत्रका खोज अनुसन्धानमूलक क्षेत्रमा चासो राख्नुहुन्छ ।  दार्चुलाको मालिकार्जुन गाउँपालिका घर भएका मिश्र पछिल्लो समय खोजमूलक सामग्री सामाजिक सञ्जालबाट पस्किदै आउनुभएको छ । उहाँले सामुदायिक ग्रामीण विकास समाज नेपाल CRDS एनजिओको नेतृत्व समेत सम्हालिसक्नुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्