काठमाडौं – निजी विद्यालय सञ्चालक तथा शैक्षिक व्यक्तित्व पाण्डव हमाल ठकुरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । निजी विद्यालयहरूको छाता संगठन नेसनल प्याब्सन (एनप्याब्सन) का निवर्तमान केन्द्रीय अध्यक्ष हमाललाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको हो ।
एमालेको राष्ट्रिय भेलाका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले खादा तथा माला लगाएर हमाललाई पार्टीमा स्वागत गर्नुभएको थियो । सिरहाको धनगढीमाई नगरपालिका–१२ मा जन्मिनुभएका हमाल विगत २९ वर्षदेखि लहानमा एलएमसी सेकेन्डरी स्कुल तथा कलेज (LMC Secondary School/College) सञ्चालन गर्दै आउनुभएको छ । लामो समयदेखि शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय उहाँले निजी विद्यालयहरूको संस्थागत विकास र शैक्षिक क्षेत्रको नेतृत्वमा समेत भूमिका निर्वाह गरिसक्नुभएको छ ।

शिक्षा क्षेत्रसँगै समाजसेवामा सक्रिय रहँदै आउनुभएका हमालले अब आफ्नो जन्मभूमि र नगरको विकासका लागि प्रत्यक्ष राजनीतिक भूमिकामा रहेर काम गर्ने आकाङ्क्षा व्यक्त गर्नुभएको छ । उहाँले लामो समय शिक्षा क्षेत्रमा काम गरेको अनुभवलाई सामाजिक तथा राजनीतिक सेवामा उपयोग गर्ने सोचका साथ एमालेमा प्रवेश गरेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “लामो समयदेखि आफूले शिक्षा क्षेत्रमा लाग्दै निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनको राष्ट्रिय अध्यक्षको भूमिका निर्वाह गरिसकेपछि अब समाज र आफ्नो ठाउँका लागि केही गरौँ भन्ने मनमा थियो । अब स्थानीय तह निर्वाचनमा पार्टीका अग्रज नेताहरूले आफूलाई सेवक बनेर काम गर्ने मौका दिएमा स्थानीय निर्वाचनमा आफू सशक्त रूपमा अघि बढ्ने सोचमा छु ।”
स्थानीय स्तरमा युवामाझ परिचित तथा शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका हमालको एमाले प्रवेशलाई सिरहा जिल्लाको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उहाँको पार्टी प्रवेशसँगै आगामी स्थानीय तह निर्वाचनमा सम्भावित राजनीतिक भूमिकाबारे समेत चर्चा सुरु भएको छ । शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समय काम गर्नुभएका हमालले अब राजनीतिक माध्यमबाट आफ्नो नगर र जन्मभूमिको विकासमा योगदान पुर्याउने लक्ष्य राख्नुभएको छ ।





