काठमाडौं । नेपाल बैंक लिमिटेडले मोबाइल बैंकिङ एपबाटै दुई लाख रुपैयाँसम्म कर्जा लिन सकिने डिजिटल सेवा ‘एनबीएल फोनलोन’ सुरु गरेको छ। बैंकको ९०औँ वार्षिकोत्सवका अवसरमा सुरु गरिएको यस सेवामार्फत योग्य ग्राहकले बिना धितो र कागजी प्रक्रियाबिना नै मोबाइलबाट कर्जा लिन सक्नेछन्।
बैंकको ‘एनबीएल बैंकस्मार्ट एक्सपी’ मोबाइल एपमार्फत उपलब्ध हुने यो सेवा फोनलोन प्रालिले सञ्चालन गर्नेछ। सेवाको प्रयोगबाट ग्राहकले कर्जा लिन बैंकको शाखामा पुग्नुपर्ने वा भौतिक रूपमा कागजात बुझाउनुपर्ने झन्झटबाट मुक्ति पाउने बैंकले जनाएको छ।
यस सेवाअन्तर्गत ग्राहकले अधिकतम दुई लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। तर, कर्जाको वास्तविक सीमा भने बैंकले निर्धारण गरेका योग्यता तथा मापदण्डका आधारमा तय हुनेछ। कर्जा उपलब्ध गराउँदा ग्राहकको खातामा नियमित तलब जम्मा भए–नभएको, विद्यमान कर्जा दायित्व र विगतको कर्जा भुक्तानी व्यवहारलाई आधार बनाइनेछ।
ग्राहकले लिएको कर्जा एक महिनाभित्रै वा अधिकतम १२ महिनासम्मको मासिक किस्ता (ईएमआई) मा चुक्ता गर्न सक्नेछन्। साथै, तोकिएको समयअगावै कर्जा भुक्तानी गर्न मिल्ने पूर्वभुक्तानी सुविधा पनि उपलब्ध गराइएको छ।
नेपाल बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका ग्राहकले आवश्यक योग्यता पूरा गरी दर्ता प्रक्रिया सम्पन्न गरेपछि एनबीएल बैंकस्मार्ट एक्सपी एपबाटै फोनलोनका लागि आवेदन दिन सक्नेछन्।
बैंकको रिटेल क्रेडिट विभागका प्रमुख प्रबन्धक अर्जुनबहादुर कँडेलले यस सेवाले ग्राहकलाई सुरक्षित, सहज र पूर्ण डिजिटल कर्जा सुविधा उपलब्ध गराउने बताए। प्रविधिको प्रयोगमार्फत वित्तीय सेवामा पहुँच विस्तार गर्नु र बैंकिङ प्रक्रियालाई थप सहज बनाउनु बैंकको प्राथमिकता रहेको उनको भनाइ छ।
यो सेवाबाट डिजिटल बैंकिङको विस्तारसँगै ग्राहकको औपचारिक कर्जामा पहुँच थप सहज हुने नेपाल बैंकले अपेक्षा गरेको छ।




